`

पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने

Nepal One HD १७ मंसिर २०८२ १४:३५
प्रमुख खबर

लिस्बन (पोर्चुगल) ।  पोर्चुगलको मदेइरा आइल्याण्डमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी दुई दिने घुम्ती शिविर सञ्चालन हुने भएको छ ।

लिस्बनस्थित रहेको नेपाली दूतावासको टोलीले यही डिसेम्बर ६ र ७ तारिख(शनिबार र आइतबार) मदेइरा आइल्याण्डको फुन्चालमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुई दिने घुम्ती शिविर सञ्चालन गर्ने भएको हो ।

दूतावासका अनुसार शिविरमा राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरण लगायतका सेवा प्रदान गर्नेछ ।

टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाहरुको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्ने दूतावासले जनाएको छ ।

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र ९प्रहरी रिपोर्ट०लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सहज सेवा उपलब्ध गराउने योजनाअनुरुप मदेइरामा घुम्ती शिविर सञ्चालन गर्न लागिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताएका छन् ।

“मदेइरा आइल्याण्डबाट दूतावास धाउन टाढा भएकै कारण सो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले टोली खटाएरै सेवा दिन लागेका हौँ”, राजदूत पौडेलले रासससँग भनेका छन्, “हामीले सो क्षेत्रका नेपालीको सहजताका लागि दूतावासको बिदाको दिनलाई सदुपयोग गरेर शिविर सञ्चालन गर्न लागेका हौँ ।”

शिविरबाट त्यहाँ रहेका धेरै नेपाली लाभान्वित हुने अपेक्षा गरिएको उनले बताएका छन् । घुम्ती शिविर सञ्चालन हुने भएपछि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सो क्षेत्रका नेपालीलाई राहत मिल्ने भएको छ । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेको थियोे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *