`

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो ‘तेरी मेरी कहानी’

Nepal One HD २१ मंसिर २०८२ २०:१५
मनोरञ्जन

काठमाडौं । निःस्वार्थ प्रेमको अतुलनीय उदाहरण बनेका सिर्जना सुवेदी र विवेक पंगेनीको सम्मानमा बनेको हिन्दी गीत ‘तेरी मेरी कहानी’को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । अर्जुन कटुवालले निर्माण गरेको म्युजिक भिडियो आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै मन पराएका थिए । बिरामी विवेकलाई सिर्जनाले दिएको प्रेमलाई धेरैले निस्वार्थ प्रेमको उदाहरणका रुपमा लिएका छन् ।

मानव कौलको शब्द रचनामा तयार भएको गीतको संगीत संयोजन गरेका कटुवालले गीतमा स्वर पनि दिएका छन् । गीतमा कटुवालसँगै पम्फा चाम्लिङ र सोनिया उपाध्यायको पनि स्वर रहेको छ । चर्चित टिकटकर वर्षा श्रेष्ठ र निमेष श्रेष्ठको मोडलिङ रहेको म्युजिक भिडियो निर्देशन आयुष महर्जनले गरेका हुन् ।

सिर्जना र विवेकको प्रेमकथाले निस्वार्थ प्रेमको अतुलनीय उदाहरण प्रस्तुत गरेकाले अरुलाई पनि यसले प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो गीत बनाएको निर्माता, संगितकार र गायक कटुवालले बताए । ‘उहाँहरूको प्रेम नेपालमा जस्तै भारतमा पनि चर्चित रहेको कारण मैले हिन्दीमा गीत गरेको हुँ,’ अर्जुन भन्छन्, ‘भविष्यमा यसलाई नेपालीमा पनि बनाउने सोचिरहेको छु ।’

सिर्जनाले भोगेको दुःख केही मात्रामा भए पनि दर्शकले महसुस गरुन् भन्ने चाहना रहेको उनले बताए । वरिष्ठ गायक तथा संगीतकार आनन्द कार्कीले गीतको म्युजिक भिडियोले आफ्नो मन छोएको भन्दै प्रशंसा गरे । कटुवाल बलिउडमा काम गरिरहेका नेपाली युवा संगीतकार हुन् । उनले रिसव सेठ्ठीको चर्चित भारतीय चलचित्र कान्तारा लगायतका चलचित्रमा पनि काम गरिसकेका छन् । यस्तै, हद से, हक हे तेरा लगायत आधा दर्जन हिन्दी गीत पनि दर्शकसामु ल्याइसकेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *