`

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राख्न मन्त्री घिसिङको निर्देशन

Nepal One HD २५ मंसिर २०८२ ७:३०
प्रमुख खबर

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

शहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको   बैठकमा उहाँले भन्नुभयो, “भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको निर्माण र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुहोला ।”

मन्त्री घिसिङले वर्षौंदेखि ठेक्का लिएर रुग्ण बनाइएका आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “अनावश्यक विवाद नगरौँ, निर्माण व्यवसायी सम्पर्कमा आएको भन्दै नबसौँ, काम गर्ने सुनिश्चितता खोजौँ, हाम्रो तर्फबाट गर्नुपर्ने निर्णय नगर्ने अनि निर्माण व्यवसायीले काम गरेन भनेर बस्ने छुट कसैलाई छैन ।”

मन्त्रालयका सचिव गोपाल सिग्देलले रुग्ण ठेक्काका निर्माण व्यवसायी काममा फर्किएको बताइए पनि निर्माणस्थलमा काम भए/नभएको नियमित अनुगमन गर्न अनुरोध गर्नुभयो । बैठकमा शहरी विकास मातहत रहेका दुई विभाग र पाँच निकायका चालु आवको चार महिनामा बजेट कार्यान्वयनको अवस्था, समस्यालगायतका विषयमा समीक्षा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *