`

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत श्रीवास्तव अचानक बिरामी, सेनाको हेलिकोप्टरबाट उद्धार

Nepal One HD २७ मंसिर २०८२ १७:०८
प्रमुख खबर

काठमाडौं । काठमाडौं नजिकैको चम्पादेवी डाँडामा हाइकिङमा गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार अचानक अस्वस्थ भएका छन् । हाइकिङकै क्रममा एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनको हवाई उद्धार गरिएको हो । उच्च स्रोतका अनुसार राजदूत श्रीवास्तव हाइकिङका दौरान अचेत भएपछि तत्काल उद्धारको प्रक्रिया अघि बढाइएको थियो । परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई सुरक्षित रूपमा काठमाडौं ल्याइएको हो ।

नेपाली सेनाले राजदूत श्रीवास्तवसहितको टोलीलाई चम्पादेवी क्षेत्रबाट उद्धार गरी अस्पतालसम्म पुर्‍याएको जनाएको छ । उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । भारतीय दूतावास स्रोतले भने राजदूत श्रीवास्तवलाई सामान्य स्वास्थ्य समस्या देखिएको र हाल उनको अवस्था स्थिर रहेको बताएको छ । दूतावासका अनुसार उनी व्यक्तिगत रूपमा हाइकिङका लागि चम्पादेवी पुगेका थिए । चम्पादेवी क्षेत्र काठमाडौं उपत्यकाको लोकप्रिय हाइकिङ गन्तव्य मानिन्छ। यद्यपि उचाइ र मौसमका कारण कहिलेकाहीँ हाइकिङका क्रममा स्वास्थ्य समस्या देखिने गरेको छ । घटनापछि राजदूतको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *