जेन-जी फ्रन्टले झापाबाट जागरण अभियान सुरू गर्ने
काठमाडौं । नेपाल जेन-जी फ्रन्टले देशभर “जागरण सभा” सञ्चालन गर्ने अभियान गर्ने भएको छ । अभियानअन्तर्गतको पहिलो जागरण सभा आज झापाको दमकमा हुँदैछ ।
आगामी मंसिर २८ गते आइतबार झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेन-जी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा-५ समूह स्थानीय आयोजकका रूपमा रहनेछन् । कार्यक्रममा स्थानीय रूपमा जेन-जी आन्दोलनमा सक्रिय जेन-जी अगुवादेखि नागरिक समाजका प्रतिनिधि साथै राष्ट्रियस्तरमा जेन-जी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल जेन-जी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णका अनुसार नेपाल जेन-जी फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा र काउन्सिल अफ जेन-जीका प्रदेश नं. १ संयोजक उपार्जुन चाम्लिङ लगायतका जेन-जी अगुवाहरू उक्त कार्यक्रममा वक्ताका रूपमा रहनेछन् ।
कर्णका अनुसार यस जागरण सभाको उद्देश्य जेन-जी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको छ ।
