`

युवाको उपस्थिति अनिवार्य गर्न एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी : सुहाङ नेम्वाङ

Nepal One HD २८ मंसिर २०८२ १२:३५
नेकपा एमाले

काठमाडौं । प्रतिनिधि सभाका निवर्तमान सदस्य सुहाङ नेम्वाङले नेकपा (एमाले) को केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । उनले नयाँ चुनौतीलाई सामना गर्न पनि पार्टीमा युवाको उपस्थिति अनिवार्य भएको बताएका छन् । ‘प्रविधिमा अभ्यस्त पुस्ताको भावना समेट्ने प्रतिनिधिको आवश्यकता छ,’ उनले भने, ‘यही भावनालाई समेट्ने गरी अग्रजहरूको आशीर्वाद र युवाहरूको साथलाई सार्थकता दिन पनि केन्द्रीय सदस्यको तयारी गरिरहेको छु ।’

उनले सभ्य समाज निर्माणका लागी हाल देखा परेका नयाँ चुनौतीलाई एकताबद्ध भएर सामना गर्नुपर्ने बताए । राजनीतिमा आफ्नो प्रवेश आकस्मिक जस्तो देखिए पनि पारिवारिक पृष्ठभूमिका कारण गहिरो बुझाइ रहेको तर्क गरे । ‘मरो इच्छा अलिक फरक थियो । बुबाबाट अझै १० वर्ष सिक्ने र उहाँले सिकाएको र देखाएको उज्याला बाटोलाई समाएर अग्रज एवं मित्रहरूको साथ र हार्दिकता साथ राजनीतिमा प्रवेश गर्ने इच्छा थियो,’ नेम्वाङले भने, ‘तर, अलिक अगाडि भए पनि इलामवासीले धेरै साथ दिनु भएको छ । म उहाँहरूकै भावना अनुसार अघि बढ्ने हो ।’

अहिलेको अवस्थामा सिङ्गो एमाले मात्रै नभई, मुलुक नै एक ढिक्का भएर समस्याको समाधान गर्नुपर्ने बेलामा युवालाई अघि लगाए हरेक नेतृत्वले समाधान खोज्न सक्ने बताए । त्यस्तै समयको गतिलाई बुझेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘हामी पुरानै कुरामा अल्झिएर होइन कि पुराना कुरालाई आत्मसमीक्षा गरेर सभ्य समाज कसरी बनाउन सकिन्छ भनेर लाग्नुपर्छ,’ उनले भने, ‘पुरानै कुरामा अल्झियौं भने उही घुमिफिरि रुम्जाटार हुन्छ ।’ इलाम निवासी उनी संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *