रचनाले दिइन् अन्तर्राष्ट्रिय क्रिकेट ‘कमेन्टेटर’ ‘टक्लु दाइ’ लाई दौरा–सुरुवाल उपहार
काठमाडौं । नेपाली क्रिकेटप्रतिको निःस्वार्थ माया र निरन्तर समर्थनको सम्मान स्वरूप गायिका रचना रिमालले अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रयू लियोनार्डलाई विशेष उपहार प्रदान गरेकी छन् । एनपीएल फाइनलका अवसरमा रचनाले एन्ड्रयूलाई नेपाली पहिचान झल्किने कोट तथा दौरा–सुरुवाल उपहार दिँदै नेपालप्रतिको उनको प्रेमप्रति धन्यवाद व्यक्त गरेकी हुन् ।
एन्ड्रयू लियोनार्ड, जसलाई नेपाली क्रिकेटप्रेमीहरूले ‘टक्लु दाइ’ भनेर स्नेहपूर्वक चिन्ने गर्छन्, लामो समयदेखि नेपाली क्रिकेटका खेलहरूमा अङ्ग्रेजी कमेन्ट्री गर्दै आएका छन् । उनको ऊर्जाशील प्रस्तुति, भावनात्मक शब्द चयन र नेपालप्रतिको आत्मीयताले उनलाई नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय बनाएको छ । एनपीएल सिजन २ मा पनि उनको कमेन्ट्रीले फ्यानहरूको मन जित्न सफल भएको देखिन्छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत रचना रिमालले एन्ड्रयू लियोनार्डसँगको भेटका तस्वीरहरू साझा गर्दै भावुक शब्दमा आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो रूपमा अघि बढिरहेको वर्तमान समयमा विश्व क्रिकेटकै नजर नेपालतर्फ केन्द्रित भइरहेको अनुभूति भएको उल्लेख गरेकी छन् । यस्तो महत्वपूर्ण घडीमा एन्ड्रयू जस्ता एक सशक्त समर्थक, कुशल कमेन्टेटर र बुलन्द आवाज नेपालका लागि अनुपम साथ भएको उनको भनाइ छ ।
रचनाले एन्ड्रयूका शब्दहरूले नेपाली क्रिकेटको आत्मा बोल्ने, उनको प्रशंसाले विश्वभर नेपाली क्रिकेटप्रति आकर्षण बढाउने र उनको ऊर्जाले खेलाडीदेखि समर्थक तथा आम जनमानससम्म नयाँ उत्साह जगाउने उल्लेख गरेकी छन् । विदेशी भए पनि नेपाललाई आफ्नै देश जस्तै माया गर्ने उनको स्वभाव सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको उनले बताएकी छन् ।
एन्ड्रयूलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्न पाउनु आफ्नो जीवनको एक महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै रचनाले नेपालले आज पाउँदै आएको सम्मान, पहिचान र अन्तर्राष्ट्रिय समर्थनमा उनको योगदान अतुलनीय रहेको बताएकी छन् । नेपाली क्रिकेटप्रतिको उनको प्रेम, ऊर्जा र सकारात्मक सोचले नेपालीहरूलाई अझ ठूलो सपना देख्न प्रेरित गरिरहेको भन्दै उनले आभार व्यक्त गरेकी छन् । नेपाली क्रिकेटको यात्रामा आवाज बनेर निरन्तर साथ दिँदै आएका एन्ड्रयू लियोनार्डप्रतिको यो सम्मानले नेपाली खेलकुद र संस्कृतिप्रतिको आपसी सद्भाव र कृतज्ञताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।
