बालेनको मन्तव्य: काठमाडौँ महानगरपालिकामा बस्छु भनेर गर्व गर्ने शहर बन्दैछ
काठमाडौं । वि. सं. १९७६ सालमा सफाइ अड्डका रुपमा स्थापना भएर २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा भएको काठमाडौँ महानगरपालिकाको मूल पहिचान सांस्कृतिक वैभवयुक्त सहर हो ।
यो वैभवलाई संरक्षण र पुस्तान्तरण गर्दै समृद्धि र विकासका आयाममा, यस अघिका विभिन्न कालखण्डमा काम गर्ने जनप्रतिनिधि र राष्ट्रसेवक, साझेदार, महानगरबासी तथा शुभेच्छुकको साथ र सहयोगलाई उच्च कदर गर्दै स्मरण गर्न चाहन्छु । ३१ औँ महानगर दिवसका अवसरमा सम्पूर्ण महानगरबासी, विकास साझेदार, राष्ट्रिय अन्तरराष्ट्रिय निकाय, निजी, उद्योग तथा वाणिज्य क्षेत्र सहित आम शुभेच्छुकहरुमा सुस्वास्थ्य, आरोग्य र ऐश्वर्य जीवनका लागि शुभकामना व्यक्त गर्दछु ।
काठमाडौँ महानगरपालिका आम महानगबासीको सर्वोत्तम हितका निम्ति दत्तचित्तले काम गरिरहेको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन् । प्राकृतिक सम्पदा र मानव निर्मित सिर्जनाको संरक्षण, संवर्धन र प्रवर्धन गरेर सहरको सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्नु, सहरी स्वच्छता र सरसफाइ गर्नु, समृद्धिका लागि एकीकृत पूर्वाधार विकास गर्नु, दैनिक सेवा प्रवाहलाई सहज र चुस्त बनाउनु, आम मानिसको जीवनलाई सहज बनाउनु हाम्रा दायित्व हुन् । यी दायित्वप्रति उत्तरदायी, इमान्दार भएर मितव्ययी तथा पारदर्शी भइ कार्य सम्पादन गरिरहेका छौँ ।
नियमित काम सँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाका रुपमा कार्यान्वयनमा ल्याइएका छन् । यस्तै, आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा राख्नु पर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रुपमा राखिएको छ ।
यसरी सञ्चालन गरिएका कार्यक्रममध्ये धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधारको काम सम्पन्न भएको छ । ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान गरिएको छ । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन, रात्रीकालीन सहरी सौन्दर्यलाई एकनाशको बनाउन ५ हजार ३१८ वटा पोलमा १३ हजार ३४० वटा बती राखेर सहरलाई उज्यालो बनाउँदैछौँ ।
हामी काठमाडौँ महानगरमा आए पछि २३ अरब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ । हाम्रो लक्ष्य करिब २ खरव मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण मुक्त गराउने रहेको छ । यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।
गएको वर्ष हामीले करिब २ अरब ८६ करोड रुपियाँ बराबरका पूर्वाधार योजना सम्पन्न गर्यौँ । करिब ९१ करोड लागत बराबरका सम्पदा संरक्षणमा काम गर्यौँ । यसबाट २७६ वटा मूर्त सम्पदा सम्बन्धी आयोजना र १२५ वटा अमूर्त सम्पदा सम्बन्धी कार्यक्रम सञ्चालन भए ।
यस वर्ष १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस भयो । वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरियो । ३२ वडामा स्वास्थ्य प्रवर्धन केन्द्रसहित ३५ वटा स्वास्थ्य संस्थामा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेका छौँ । फिजियोथेरापी सहित निदानात्मक, परामर्श सेवा सहित प्रवर्धनात्मक र ओपीडी सहित उपचारात्मक सेवा प्रारम्भ गरेका छौँ । १० वटा केन्द्रलाई बिमाको प्रथम सेवा विन्दुका रुपमा सञ्चालन गरेका छौँ ।
विद्युतीय शासन अन्तर्गत इशिफारिस र इकार्यालय प्रणाली कार्यान्वयमा ल्यायौँ । सफ्टवेयर डिभलपमेन्ट तथा सञ्चालन कार्ययोजना स्वीकृत गर्यौँ । घरधुरी सर्वेक्षणअन्तर्गत ड्रोन र डीजीपीएस सर्वेक्षण, लेयर डिजिटाइजेसन र नक्साङ्कनको काम भएको छ ।
१५२ वटा आगलागीका घटना, १४३ वटा जोखिमयुक्त रुख व्यवस्थापन र १३० वटा जलजन्य विपद व्यवस्थापन भयो । २ हजार ८९६ मिटर फायर ड्राइराइजर प्रणाली स्थापना भएको छ ।
सहरी योजना आयोगबाट १६४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएका छन् ।
६ अरब ३३ करोड ५८ लाख ५९ हजार २४६ रुपियाँ लागत अनुमान भएका २५१ वटा योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरियो । यी योजनाहरु प्रतिस्पर्धाका माध्यमबाट ५ अरब ४ करोड ९४ लाख ४३ हजार २४९ रुपियाँ लागतमा प्राप्त गरेर १ अरब २८ करोड ६४ लाख १५ हजार ९९७ रुपियाँ बचत भयो ।
कल सेन्टरमार्फत ८ हजार २०६ वटा र हेल्लो सरकारबाट १ हजार १०५ वटा गुनासा प्राप्त भएका थिए । यीमध्ये कल सेन्टरमा आएका ७ हजार ६९७ वटा र हेल्लो सरकारबाट आएका ७२० वटा गुनासा फर्स्योट गरियो । बाँकी फर्स्योट चरणमा छन् ।
यस वर्ष ३० हजार ३२३ जना ज्येष्ठ नागरिकहरुलाई मासिक ४ हजार रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान ग¥यौँ । यस्तै ज्येष्ठ नागरिक (दलित) भत्ता, ज्येष्ठ नागरिक एकल महिला भत्ता, एकल महिला भत्ता, पूर्ण अपाङ्गता भत्ता महानगरपालिकाले नियमित प्रदान गरेका भत्ता हुन् ।
ज्येष्ठ नागरिकहरुलाई वडाबाट तीर्थाटन गराउने कामलाई निरन्तरता दिएका छौँ । जोखिमपूर्ण श्रममा रहेका, अनाथ र यौनजन्य हिँसा पीडित बालबालिकालाई उद्धार, अस्थायी संरक्षण र पारिवारिक पुनर्मिलन गराइएको छ ।
सामुदायिक शिक्षाको सुधारका लागि डिजिटल शिक्षण प्रणाली, सीसीडी र ईसीडी कक्षा सञ्चालन, प्रणालीमा आधारित छात्रवृत्ति प्रदान कार्यलाई प्राथमिकतामा राखिएको छ ।
हामी कार्यालय सञ्चालन खर्चलाई घटाउने र पूँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने काम गरिरहेका छौँ । यसमा बहाल करको क्षेत्र विस्तार गरेका छौँ । नागरिकबाट संकलन गरिएको राजस्वलाई नागरिकको सामुहिक हितका क्षेत्रमा खर्च गरेका छौँ ।
स्थानीय स्रोत र साधनको अधिकतम प्रयोगबाट रैथाने सिपलाई आयमा रुपान्तरण गर्न उद्यममा आधारित ‘एक वडा, एक कार्यक्रम’’ सञ्चालन गरेका छौँ । यसबाट महानगरपालिका र स्थानीयको सम्बन्ध जोडिएको छ ।
विकेन्द्रीकरणका माध्यमबाट स्थानीय समस्या समाधान गर्न न्याय चौतारी, मेलमिलाप प्रवर्धन, महिला सञ्जाल र कानुनी सहजकर्ताको प्रबन्ध गरिएको छ । यसले, नागरिकमा न्यायको पहुँच वृद्धि भएको छ ।
महानगरबासीसँग बाचा गरेका काममध्ये यी प्रतिनिधिमूलक काम हुन् । यस्ता सार्वजनिक महत्वका तत्कालीन, मध्यकालीन र दीर्घकालीन धेरै योजनाहरु बनाएका छौँ । जसको कार्यान्वयनबाट महानगरबासीले म काठमाडौँ महानगरपालिकामा बसोबास गर्छु भनेर गर्व हुनेछ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारहरु, विकासका राष्ट्रिय अन्तरराष्ट्रिय साझेदार, नागरिक समाज, उपभोक्ता समिति, टोल सुधार समिति, क्लव, निजी, उद्योग तथा वाणिज्य क्षेत्र सबैप्रति नियमित साथ र सहयोगका लागि अपिल गर्दछु ।
(३१औै महानगर दिवसका अवसरमा आयोजित समारोहमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले राखेको मन्तव्यको सम्पादित अंश)
