`

एमाले महाधिवेशनमा कसैलाई पुरस्कार कसैलाई आंशु उपहार!

Nepal One HD २९ मंसिर २०८२ २१:४१
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा सोमबार नेतृत्वका लागि उम्मेद्वारी दर्ताको क्रममा विभिन्न दृश्य देखियो । पदाधिकारीका आकांक्षी धेरै भएको अध्यक्ष केपी शर्मा ओलीको समूहमा कसैलाई आंशु उपहार मिल्यो भने कसैलाई पद पुरस्कार । कसैले खुशीखुशी स्वीकार गरे हार भने कुनै समूहले भेटेन चाहिनेजति उम्मेद्वार ।

अध्यक्ष ओलीको अत्यन्तै नजिक रहेका वर्तमान उपमहासचिव प्रदीप ज्ञवाली आफूले चाहेको पद नपाउँदा आंशु झार्दै हिडेका थिए । १०औं महाधिवेशनबाट उपमहासचिव बनेका ज्ञवाली यसपटक महासचिव बन्न चाहन्थे । तर, अध्यक्ष ओली भने महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याउने पक्षमा थिए । आफूले चाहेको पद नपाउने भएपछि उनी केन्द्रीय सदस्य मात्रै हुन्छु, कुनै पद चाहिँदैन भन्दै हिडेका थिए । उनले केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिएका छन् ।

खोजेको पद नपाउने ज्ञवाली एक्ला पात्र होइनन् । रघुजी पन्त, अग्नी खरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, भीम आचार्य, सुहाङ नेम्वाङ लगायतले पनि टिम ओलीको सूचीमा परेनन् । प्यानलमा नपरेपछि रघुजी पन्तले उपाध्यक्षमा स्वतन्त्र लड्ने निर्णय गरे भने लालबाबु पण्डितले सचिवमा उम्मेद्वारी दिएका छन् । यस्तै, सचिव पदका आकांक्षी राजेन्द्र गौतमले उपमहासचिव पदमा बिना प्यानल उम्मेद्वारी दर्ता गराएका छन्

सामाजिक सञ्जाल प्रयोगकर्ता र युवापुस्तामाझ लोकप्रीय रहेका संविधान सभा अध्यक्ष सुवास नेम्वाङ पुत्र  सुहाङ नेम्वाङ भने ओली प्यानलको केन्द्रीय सदस्यमा पनि अँट्न सकेनन् । महाधिवेशन सुरू हुनु अगाडि नै केन्द्रीय सदस्यका लागि उम्मेद्वारी घोषणा गरेका सुहाङले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् ।

ओलीले सचिव बनाउन खोजेका लेखराज भट्टलाई भने भानुभक्त ढकालले सजिलो बनाइदिए । पहिले उपमहासचिवमा टुंगो भइसकेका भानुभक्त सचिवमा नै बस्न तयार भएपछि लेखराज उपमहाचिवको उम्मेद्वार बन्ने बाटो खुल्यो ।

जेनजी आन्दोलनपछि ओलीका लागि बास र सुरक्षा समेत मिलाएका महेश बस्नेत सचिवका उम्मेद्वार बन्ने भएका छन् । उनले सचिव पदको टिकट आफ्ना लागि पुरस्कार भएको बताए । उनले भने, ‘रविलाई गृहमन्त्री चिट्ठामा मिलेको थियो, मलाई सचिव पदको उम्मेद्वारी पुरस्कारमा ।’

सचिवको आकांक्षी रहेकी रामकुमारी झाँक्री भने खुशीखुशी केन्द्रीय सदस्य मात्रै बन्न तयार भइन् । पार्टी विभाजन हुँदा आफैंले हात समातेर लगेका माधव कुमार नेपालको साथ छोडेर एमाले फर्किएकी उनले भनिन्, ‘म पदका लागि एमाले फर्किएको होइन, पार्टीमा योगदान गर्न फर्किएको हुँ । पार्टीले जुन झोला बोकाए पनि बोक्न तयार छु ।’

यता ईश्वर पोखरेलले भने पदाधिकारी बन्ने १९ जना उम्मेद्वार पनि पाउन सकेनन् । उनको प्यानलमा पाँच उपाध्यक्षमा चार मात्रै उम्मेद्वार छन् भने तीन उपमहासचिवमा दुई जना मात्रै उम्मेद्वार बने । नौ जना सचिवको पदमा ईश्वर पक्षले आठ जना मात्रै उठाएको छ । केन्द्रीय सदस्यमा भने ओलीको लिस्टमा परेका पनि धेरै उम्मेद्वारलाई आफ्नो सहयोग हुने ईश्वर पक्षका महासचिव उम्मेद्वार सुरेन्द्र पाण्डेले बताएका छन् ।

ईश्वर पक्षले ओलीसँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेद्वारी दिएका रघुजी पन्तदेखि लालबाबु पण्डितसम्मलाई आफ्नो प्यानलमा ल्याउन छलफल गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *