`

अबको बैकल्पिक शक्ति रास्वपा नै हो, बालेनलाइ पनि मिल्न भन्छु : प्रदीप खड्का

Nepal One HD १ पुष २०८२ १६:०६
प्रमुख खबर

काठमाडौँ । कलाकार प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै वर्तमान समयको प्रमुख वैकल्पिक राजनीतिक शक्ति भएको बताएका छन् । उनले नख्खु कारागारमा पुगेर रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेट गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् ।

खड्काले आफू र रवि लामिछानेबीच पुरानै चिनजान र सम्बन्ध रहेकाले भेट गर्न आएको बताए । भेटका क्रममा उनले अघिल्लो सरकारले कुदृष्टि राखेर रविमाथि अन्यायपूर्ण व्यवहार गरेको आशंका आफूभित्र रहेको उल्लेख गरे । ‘फिल्म क्षेत्रमै पनि अन्याय–अत्याचार हुँदा आवाज उठाउनु पर्छ भन्ने मान्यता राख्छु । लोकतान्त्रिक देशमा नागरिकले आफ्ना कुरा खुलस्त राख्न पाउनु पर्छ’, उनले भने, ‘एउटा व्यक्तिमाथि पुरानो सरकारले नियतवश कारबाही गरिरहेको हो कि भन्ने कुरा मनमा परिरहेको थियो ।’ नयाँ सरकार बनेपछि न्याय मिल्ने अपेक्षा गरे पनि सोअनुसार प्रक्रिया अघि नबढ्दा आफू चिन्तित भएको खड्काको भनाइ छ । ‘तीन महिनाको प्रगति हेर्दा निराशा लाग्यो । यही कारणले पनि भेट गर्न आएको हुँ’, उनले भने ।

उनले जनताको विश्वास जितेको र प्रवल सम्भावना बोकेको राजनीतिक शक्तिका रूपमा रास्वपालाई चित्रण गरे । ‘नयाँ शक्ति जे भनिए पनि, अहिलेको वैकल्पिक शक्ति रास्वपा नै हो’, खड्काले भने, ‘देशको हितका लागि सबै शक्ति मिलेर अघि बढ्नु पर्छ ।’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सन्दर्भमा बोल्दै उनले आफू बालेनसँग चिनजान रहेको तर नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग व्यक्तिगत चिनजान नभएको स्पष्ट पारे ।

‘अहिले बालेनलाई शोक परेको बेला यस्तो कुरा गर्नु उपयुक्त नहुन सक्छ’, उनले भने, ‘तर आवश्यकता परे भेटेर सबै मिलेर अघि बढ्न आग्रह गर्न सक्छु ।’ भेटका क्रममा रवि लामिछानेले आफूलाई खुला राजनीतिमा आउन आग्रह गरेको पनि खड्काले जानकारी दिए । यद्यपि उनले तत्काल राजनीतिमा प्रवेश गर्नेबारे नसोचेको बताए । ‘परिस्थिति र आवश्यकता बनेमा राजनीतिमा आउन सक्छु’, खड्काले प्रतिक्रिया दिए । कलाकार खड्काको यो भेट र अभिव्यक्तिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *