एमाले महाधिवेशन : साँझ ७ बजेबाट मतदान, ८० ‘भोटिङ मेशिन’ तयार
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान सुरु हुने भएको छ । यसअघि दिउँसो १२ बजेदेखि मतदान गर्ने कार्यतालिका भए पनि विद्युतीय भोटिङ मेशिनको कोडिङ मिलाउन समय लागेकाले निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।
पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान आज साँझ ७ बजेदेखि भोलि (पुस २) बिहान १ बजेसम्म चल्नेछ । भृकुटीमण्डप आजसम्म मात्रै भाडामा लिइएकाले आजै मतदान र अधिकांश निर्वाचन प्रक्रिया सक्ने तयारी गरिएको स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठले जानकारी दिए । एमालेले महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग गर्नेछ । यद्यपि १०० वटा मेशिन ल्याइए पनि ८० वटा मात्र मतदानका लागि प्रयोग हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बताए ।
महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । ११ जना उम्मेदवार निर्विरोध चयन भइसकेका छन् भने बाँकी उम्मेदवारलाई मत दिनुपर्नेछ । एक प्रतिनिधिले औसतमा २ सय ९२ जनालाई मत दिनुपर्ने भएकाले एक जनाले मतदान गर्न कम्तीमा २५–३० मिनेट लाग्ने निर्वाचन आयोगको अनुमान छ । एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने हुँदा सबै प्रतिनिधिको मतदान सकिन कम्तीमा १० देखि ११ घण्टा लाग्ने आयोगका सदस्यहरू बताउँछन् । त्यसअनुसार एमाले नेतृत्व चयनको निर्णायक प्रक्रिया आज रातभर चल्नेछ ।

