`

एमाले महाधिवेशन : मतदानका लागि उम्मेदवार र प्रतिनिधि लाइनमा (तस्वीरहरू)

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ । पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण निर्वाचनमा सहभागी हुन महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू बिहानैदेखि मतदान लाइनमा देखिएका छन् । यस पटक एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर मतदान गरिरहेको छ । बुथभित्र प्रवेश गरेपछि निर्वाचन आयोगबाट प्रमाणित टच स्क्रिन मेसिनमा उम्मेदवारहरूको नाम र फोटो देखिन्छ । मतदाताले आफूले रोजेको उम्मेदवारको फोटोमा टच गरेर मत जाहेर गर्छन् ।

मतदान भएपछि सम्बन्धित उम्मेदवारको फोटोमा स्वस्तिक चिन्ह देखिने व्यवस्था गरिएको छ, जसले मत दर्ता भइसकेको संकेत दिन्छ । मतदान प्रक्रिया पदीय मर्यादाक्रमअनुसार अघि बढ्छ । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारहरूको नाम क्रमबद्ध रूपमा देखाइने भएकाले माथिल्लो पदको मतदान नगरी तल्लो पदमा जान पाइँदैन। सबै पदमा मतदान पूरा भएपछि मेसिनबाट ‘बिप’ आवाज वा अडियो सन्देश आउँछ, जसले मतदान सफल भएको जानकारी दिन्छ ।

महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव निर्वाचित हुनेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मुख्य प्रतिस्पर्धामा छन् । समग्रमा करिब ६ सय ५० हाराहारी उम्मेदवार चुनावी मैदानमा रहेका छन् भने केही सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदानस्थलमा जम्मा ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएका छन् । एक पटक कुनै मेसिनमा प्रवेश गरेपछि मतदाताले सबै पदका उम्मेदवारलाई सोही मेसिनबाट मतदान गर्नुपर्ने व्यवस्था छ । यद्यपि मतदान प्रक्रिया केही समय लागे पनि मतगणना भने छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ । सबै मेसिनको मत संख्या संकलन गरी निर्वाचन आयोगले प्रमाणीकरण गर्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ । भृकुटीमण्डपमा देखिएको लामो लाइन, उम्मेदवार र प्रतिनिधिहरूको सक्रिय सहभागिता तथा विद्युतीय प्रणालीको प्रयोगले यसपटकको एमाले महाधिवेशनलाई विशेष बनाएको छ । नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक यात्रा कस्तो मोड लिन्छ भन्ने चासो पनि उत्तिकै बढेको छ ।

हेर्नुस् तस्वीरहरु

एमाले महाधिवेशन : मतदानका लागि प्रतिनिधिहरु ‘लाइन’ मा

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा सहभागी प्रतिनिधिहरू मतदानका लागि बिहानैदेखि लाइनमा उभिन थालेका छन् ।

यसअघि प्राविधिक तयारी नपुगेको भन्दै पटक–पटक सरेको मतदान अन्ततः तय समयमै सुरु भएको हो । केन्द्रीय सदस्यका उम्मेदवार तथा वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार सबै प्राविधिक तयारी राति नै पूरा भएकाले मतदान समय सार्नुपर्ने अवस्था रहेन । उनका अनुसार विद्युतीय भोटिङ मेशिनमार्फत मतदान हुँदैछ ।

भृकुटीमण्डपको मुख्य हल बुधबारका लागि अन्य प्रयोजनमा बुक भएकाले मतदानस्थल भने परिवर्तन गरिएको छ। महाधिवेशनको बन्द सत्र भएको स्थानमै मतदानको व्यवस्था मिलाइएको हो। एमालेका लागि २ हजार २६२ जना प्रतिनिधि छनोट भइसकेका छन्, जसले आज मतदानमा भाग लिँदै छन्।

यस पटक एमालेले ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ। रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको उक्त मेसिन अघिल्ला महाधिवेशनमा जस्तै यसपटक पनि प्रयोगमा ल्याइएको हो। कम्पनीका प्राविधिक लक्ष्मण रिमालका अनुसार सबै उपकरणमा डाटा इन्ट्री सम्पन्न भइसकेको छ र मतदानका लागि तयारी अवस्थामा राखिएको छ। मतदान गर्न एक जना मतदातालाई करिब ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने र करिब दुई घन्टाभित्र परिणाम सार्वजनिक हुने जनाइएको छ।

महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव निर्वाचित हुनेछन्। नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

पाँच जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा भइरहेको छ।
त्यस्तै उपमहासचिवका तीन पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार बनेका छन्।

सचिवका नौ पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की प्रतिस्पर्धामा छन्। एमालेको ११औँ महाधिवेशनबाट आउने नयाँ नेतृत्वले आगामी राजनीतिक दिशा तय गर्ने भएकाले आजको मतदानलाई चासोका साथ हेरिएको छ।

एमाले महाधिवेशन : साँझ ७ बजेबाट मतदान, ८० ‘भोटिङ मेशिन’ तयार

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान सुरु हुने भएको छ । यसअघि दिउँसो १२ बजेदेखि मतदान गर्ने कार्यतालिका भए पनि विद्युतीय भोटिङ मेशिनको कोडिङ मिलाउन समय लागेकाले निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान आज साँझ ७ बजेदेखि भोलि (पुस २) बिहान १ बजेसम्म चल्नेछ । भृकुटीमण्डप आजसम्म मात्रै भाडामा लिइएकाले आजै मतदान र अधिकांश निर्वाचन प्रक्रिया सक्ने तयारी गरिएको स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठले जानकारी दिए । एमालेले महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग गर्नेछ । यद्यपि १०० वटा मेशिन ल्याइए पनि ८० वटा मात्र मतदानका लागि प्रयोग हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बताए ।

महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । ११ जना उम्मेदवार निर्विरोध चयन भइसकेका छन् भने बाँकी उम्मेदवारलाई मत दिनुपर्नेछ । एक प्रतिनिधिले औसतमा २ सय ९२ जनालाई मत दिनुपर्ने भएकाले एक जनाले मतदान गर्न कम्तीमा २५–३० मिनेट लाग्ने निर्वाचन आयोगको अनुमान छ । एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने हुँदा सबै प्रतिनिधिको मतदान सकिन कम्तीमा १० देखि ११ घण्टा लाग्ने आयोगका सदस्यहरू बताउँछन् । त्यसअनुसार एमाले नेतृत्व चयनको निर्णायक प्रक्रिया आज रातभर चल्नेछ ।

 

 

ओली ‘प्यानल’ मा हेरफेर : लेखराज भट्टले असन्तुष्टि जनाएपछि यसरी मिलाइयो

काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि गरिएको छ । लेखराज भट्टले सचिव पद दोहोर्‍याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाउन लागेको हो । भट्टले टिमबाटै अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको जानकारी दिए । ‘म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु’, उनले भने ।

माओवादी धारबाट आएका उनी दशौं महाधिवेशनमा सचिव भएका थिए । तर, उपमहासचिवमा यसअघि पदाधिकारीमै नरहेका भानुभक्त ढकाललाई ओली टिमबाट अघि सारेपछि असन्तुष्टि बढेको थियो । एमालेमा आगामी नेतृत्व चयनका लागि अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएरै प्रतिष्पर्धा हुँदैछ ।

एमाले महाधिवेशन : को–को नेता पुगे ?

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन उद्घाटन समारोहमा विभिन्न पार्टीका नेता पनि पुग्ने क्रम सुरु भएको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सल्लाघारी पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन उनी सल्लाघारी पुगेका हुन् । भक्तपुरको सल्लाघारीस्थित उद्घाटन स्थलमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुगेका छन् । उनलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनलाई स्वागत गरेका छन् । उनी मञ्चमा पुगेका छन् । अन्य नेता पुग्ने क्रममा रहेको ज्ञवालीले जानकारी दिएका छन् । भिडभाडले गर्दा आमन्त्रित नेताहरू मञ्चमा पुग्न कठिनाइ भइरहेको ज्ञवालीले बताएका छन् ।

एमाले महाधिवेशनमा नेकपाका प्रचण्ड–माधव नजाने, देव गुरुङले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । कांग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ ।

एमालेले नेकपा, कांग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा बोलाएको थियो । प्रचण्ड माधव दुवै अहिले पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट नेता देव गुरुङले सम्बोधन गर्ने प्रचण्डका प्रमुख स्वकीय सचिवमा गोविन्द आचार्यले बताए ।

 

एमाले महाधिवेशन : मनोनीत सूचीमा ईश्वर पोखरेलको आपत्ति

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले आपति जनाएका छन् । हिजो बसेको सचिवालय बैठकमा मनोनीत १०८ जना प्रतिनिधिको नामावली पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर सूची अन्तिम रूप दिने कुराकानी समेत भएको बताइएको छ ।

तर उक्त सहमति विपरीत आफूलाई जानकारी नदिई एकलौटी ढंगले मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको पोखरेलको आरोप छ । सहमतिको प्रक्रियालाई बेवास्ता गर्दै सूची प्रकाशन गरिनु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको भनाइ छ । मनोनीत प्रतिनिधि सूचीलाई लिएर उत्पन्न विवादले एमालेभित्र नेतृत्व तहमा असन्तुष्टि चुलिएको संकेत देखिएको छ । यस विषयमा पार्टी नेतृत्वबीच थप छलफल आवश्यक रहेको नेताहरूको भनाइ छ ।

एमाले महाधिवेशन : यी हुन् सुनिता डंगोलसहित मनोनीत १०८ प्रतिनिधि

काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् । एमालेको शुक्रबार बसेको सचिवलयले ११ औं महाधिवेशनमा सहभागी हुने १०८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् । डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनीत भएकी हुन् । एमाले महाधिवेशन अहिले केही बेरमा भक्तपुरको सल्लाघारीस्थित चौरमा उद्घाटन गरिँदै छ । त्यसअघि अहिले जुलुस निकालिएका छन् ।