एमाले महाधिवेशन : मतदानका लागि उम्मेदवार र प्रतिनिधि लाइनमा (तस्वीरहरू)
काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ । पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण निर्वाचनमा सहभागी हुन महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू बिहानैदेखि मतदान लाइनमा देखिएका छन् । यस पटक एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर मतदान गरिरहेको छ । बुथभित्र प्रवेश गरेपछि निर्वाचन आयोगबाट प्रमाणित टच स्क्रिन मेसिनमा उम्मेदवारहरूको नाम र फोटो देखिन्छ । मतदाताले आफूले रोजेको उम्मेदवारको फोटोमा टच गरेर मत जाहेर गर्छन् ।
मतदान भएपछि सम्बन्धित उम्मेदवारको फोटोमा स्वस्तिक चिन्ह देखिने व्यवस्था गरिएको छ, जसले मत दर्ता भइसकेको संकेत दिन्छ । मतदान प्रक्रिया पदीय मर्यादाक्रमअनुसार अघि बढ्छ । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारहरूको नाम क्रमबद्ध रूपमा देखाइने भएकाले माथिल्लो पदको मतदान नगरी तल्लो पदमा जान पाइँदैन। सबै पदमा मतदान पूरा भएपछि मेसिनबाट ‘बिप’ आवाज वा अडियो सन्देश आउँछ, जसले मतदान सफल भएको जानकारी दिन्छ ।
महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव निर्वाचित हुनेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मुख्य प्रतिस्पर्धामा छन् । समग्रमा करिब ६ सय ५० हाराहारी उम्मेदवार चुनावी मैदानमा रहेका छन् भने केही सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
मतदानस्थलमा जम्मा ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएका छन् । एक पटक कुनै मेसिनमा प्रवेश गरेपछि मतदाताले सबै पदका उम्मेदवारलाई सोही मेसिनबाट मतदान गर्नुपर्ने व्यवस्था छ । यद्यपि मतदान प्रक्रिया केही समय लागे पनि मतगणना भने छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ । सबै मेसिनको मत संख्या संकलन गरी निर्वाचन आयोगले प्रमाणीकरण गर्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ । भृकुटीमण्डपमा देखिएको लामो लाइन, उम्मेदवार र प्रतिनिधिहरूको सक्रिय सहभागिता तथा विद्युतीय प्रणालीको प्रयोगले यसपटकको एमाले महाधिवेशनलाई विशेष बनाएको छ । नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक यात्रा कस्तो मोड लिन्छ भन्ने चासो पनि उत्तिकै बढेको छ ।
हेर्नुस् तस्वीरहरु

