टनकपुर व्यारेजबाट नेपालले छिट्टै सिँचाइका लागि पानी पाउने छ : मन्त्री घिसिङ
कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले महाकाली सिँचाइ आयोजनाका लागि टनकपुर ब्यारेजबाट छिट्टै पानी उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली सिँचाइको तेस्रो चरणको भौतिक प्रगति निरीक्षण गर्न बुधबार कञ्चनपुरको ब्रह्मदेव पुगेका मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग आवश्यक समन्वय भइरहेको बताएका हुन् ।
टनकपुर ब्यारेजको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ सिँचाइ सुविधा पुर्याउन भारतसँग कूटनीतिक र प्राविधिक दुवै तहमा पहल भइरहेको जानकारी दिए । ‘पानी छोड्ने विषयमा दुई देशका संयन्त्र एवं द्विपक्षीय भेटघाटमा निरन्तर छलफल र पत्राचार भइरहेको छ,’ मन्त्री घिसिङले भने, ‘नेपालतर्फ मुख्य र शाखा नहरहरू निर्माण भइसकेकाले भारतबाट पानी छोड्ने निर्णय आउनेमा हामी विश्वस्त छौं ।’
नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिअनुसार नेपालले सिँचाइका लागि हिउँदयाममा तीन सय क्युसेक र वर्षायाममा एक हजार क्युसेक पानी पाउने व्यवस्था छ । सोही सन्धिबमोजिम पानीको उपयोग गर्न नेपालतर्फ आवश्यक संरचनाहरू तयार भइसकेका छन् । कञ्चनपुरका सुक्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा पुर्याउन सकिने अवस्था रहे पनि मूल नहरमा पानी नहुँदा किसानहरू आकासे पानीको भर पर्न बाध्य छन् । परियोजनामा हालसम्म करिब ९ अर्ब रुपैयाँ लगानी भइसकेको छ । तर, अर्बौं लगानी गरेर संरचना तयार हुँदा पनि प्रतिफल प्राप्त नभएको भन्दै स्थानीय स्तरमा आलोचना हुने गरेको छ । लामो समयसम्म पानी सञ्चालन नहुँदा निर्मित संरचनाहरू समेत बिग्रिन थालेको आयोजना पक्षले जनाएको छ ।
महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार र भूमिगत सिँचाइबाट ५ हजार गरी कुल ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य छ । आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ । तयार भइसकेका संरचनाको प्रतिफल किसानले छिट्टै पाउने गरी सरकारले नतिजामुखी पहल गरिरहेको मन्त्री घिसिङको भनाई छ ।
