अवसरवादी र लैबरीलाई कार्यकर्ताले भोट दिँदैनन्: महेश बस्नेत
काठमाडौं। नेकपा एमालेका वर्तमान पोलिटब्युरो सदस्य महेश बस्नेतले यसपटकको महाधिवेशनमा पार्टीभित्रका अवसरवादी नेताहरू पराजित हुने दाबी गरेका छन् ।
भृकुटीमण्डपमा जारी ११औ राष्ट्रिय महाधिवेशनमा बुधबार मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यसपालि महाधिवेशनमा अवसरवादी र लैबरीलाई भोट हाल्ने कार्यकर्ता आएका छैनन्,’ उनले भने, ‘यसपालि जोस-जाँगर र ऊर्जा बोकेका, राष्ट्र र राष्ट्रिता जोगाउन सक्ने नेतालाई जिताउने प्रतिनिधि आएका छन् ।’
उनले पराजित भएका उम्मेद्वारलाई पनि पार्टीमा सम्मानजनक भूमिका दिइने बताए ।
‘चुनावमा हारेकै आधारमा कसैलाई कारबाही गर्नै मिल्दैन,’ उनले भने, ‘जित्ने साथीहरूले सम्बन्धित जिम्मेवारीमा काम गर्नुहुन्छ, उहाँहरूले पराजित हुनेलाई सम्मानजनक भूमिका दिनु पर्छ ।‘
केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उम्मेद्वार दिएका बस्नेतले आफूले लोकप्रीय मत ल्याएर जित्ने दाबी समेत गरेका छन् ।
