कसरी भइरहेको छ एमालेमा मतगणना?
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा बिहीबार बिहान मतदान सकिएपछि अहिले मतगणना सुरू भएको छ । बुधबार बिहान ९ बजे सुरू भएको मतदान झन्डै २२ घण्टामा सकिएको थियो ।
२२६३ प्रतिनिधि रहेको महाधिवेशनमा २२२७ जनाले १९ पदाधिकारी सहित ३०१ केन्द्रीय सदस्य र केन्द्रीय विभागका लागि मतदान गरेका छन् । निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबीच प्रतिस्पर्धा छ ।
८० वटा मेसिनबाट भएको मतदानको मतगणना गर्न केही घण्टा मात्रै लाग्ने पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ। विद्युतीय मतदान भए पनि यी सबै मेसिनलाई एक आपसमा जोडिएको छैन ।
८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ । प्रत्यके मेसिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कुल ८० मेसिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ । त्यसपछि मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ ।
सबै मेसिनमा परेको मत अलगअलग गणना गरिने छ। यसका लागि पहिले मेसिनका चीपहरू निकालेर कम्प्युटरमा डेटा सारिन्छ । यसपछि यी डेटाको मतपरिणाम हेरिन्छ ।
मतपरिणाम तयार भएपछि सर्वपक्षीय बैठक बस्नेछ र यसपछि नतिजा सुनाइने एमालेले जनाएको छ ।
यसका लागि तीन देखि चार घण्टा लाग्ने आयोगले जनाएको छ ।
