सचिव पदमा ओली समूहका नौं जना नै अगाडि, पोखरेल पक्ष ‘बढारिने’ सक्ने संकेत
काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा सचिव पदका लागि केपी शर्मा ओली समूहका उम्मेदवारहरूको दबदबा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार सचिव पदमा अग्रता लिने शीर्ष ९ जना उम्मेदवार सबै ओली टिमकै रहेका छन्, जसले नेतृत्व तहमा ओली समूहको बलियो प्रभाव स्पष्ट पारेको छ ।
मत परिणामअनुसार ओली टिमका छविलाल विश्वकर्मा र महेश बस्नेतले समान ३११ मत प्राप्त गर्दै अग्रस्थान ओगटेका छन् । उनीहरूलाई नजिकबाट पछ्याउँदै पद्माकुमारी अर्यालले ३०५ मत र शेरधन राईले ३०० मत प्राप्त गरेका छन् । यी चार उम्मेदवारले ३ सयभन्दा बढी मत कटाएर आफ्नो स्थिति थप मजबुत बनाएका छन् । यसैगरी खगराज अधिकारीले २७९ मत, हिक्मत कुमार कार्कीले २७४ मत, यमलाल कडेलले २६९ मत, राजन भट्टराईले २३६ मत र भानुभक्त ढकालले २२५ मत प्राप्त गरेका छन् । हालसम्मको गणनाले सचिव पदमा ओली समूहको स्पष्ट अग्रता देखाएको छ ।
सचिव पदका लागि कुल २० जनाको उम्मेदवारी परेको भए पनि अन्य उम्मेदवारहरूले भने २ सय मतसमेत कटाउन सकेका छैनन्। यसले प्रतिस्पर्धा एकतर्फी बन्दै गएको संकेत गरेको छ । यसैबीच, ईश्वर पोखरेल समूहका तर्फबाट सचिव पदका बलिया दाबेदारका रूपमा हेरिएका गोकुल बास्कोटा भने अपेक्षाकृत कमजोर अवस्थामा देखिएका छन् । हालसम्म बास्कोटाले १९२ मत मात्र प्राप्त गरेका छन् र शीर्ष ९ भित्र अटाउन संघर्षरत छन् । पोखरेल समूहका अन्य उम्मेदवारहरू पनि पछाडि परेका छन् । मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी नै छ । तर अहिलेसम्मको परिणामले एमालेको आगामी नेतृत्व संरचनामा ओली समूहको प्रभाव निर्णायक रहने संकेत दिएको छ।
अरु उम्मेदवारको मतः
अग्निप्रसाद खरेल – १४९
इन्द्रलाल साप्कोटा – ७४
कर्णबहादुर थापा – १६६
कृष्ण गोपाल श्रेष्ठ – ११४
गोकुलप्रसाद बास्कोटा – १९२
ठाकुरप्रसाद गैरे – १७५
पुर्सोतम पौडेल – ८६
पेम्वा लामा – ८५
रचना खड्का – १६९
लालबाबु पण्डित – ७३
विनोदप्रसाद ढकाल – १४८
