रवि लामिछाने छुटपुर्जीका लागि भैरहवा प्रस्थान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज कारागारमुक्त हुँदैछन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि छुटपुर्जी लिन उनी भैरहवा प्रस्थान गरेका हुन् । नख्खु कारागार प्रशासनले लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइसकेको छ । भैरहवा विमानस्थलमा हुस्सु लागेकाले उडान केही ढिला भए पनि मौसम खुलेपछि उनी जहाजमार्फत त्यहाँ जानेछन् ।
भैरहवा पुगेपछि जिल्ला अदालत रूपन्देहीबाट छुटपुर्जी लिएपछि मात्र उनको औपचारिक रिहाइ हुनेछ । उच्च अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको हो । यससँगै उनले धरौटीबापत एक करोड रुपैयाँ अदालतमा बुझाउनु पर्नेछ । सहकारी रकम अपचलन प्रकरणमा सामूहिक रूपमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । भैरहवा विमानस्थल वरिपरि रास्वपाका कार्यकर्ता भेला भइसकेका छन् ।

