`

चितवनबाट रवि लामिछानेको सन्देश: निर्वाचनको विकल्प छैन

Nepal One HD ५ पुष २०८२ १३:५८
बिशेष

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीहरूको एक थोपा रगत खेर जान नदिने उद्घोष गरेका छन् । सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछानेले थुनामुक्त भएपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका हुन् ।

चितवनको चौबिसकोठीमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै उनले सेना र न्यायालयप्रति भरोसा व्यक्त गरे भने  सरकारलाई आफ्नो साथ रहेको बताए । ‘जेनजीका माग पुरा गर्ने र निर्वाचन गर्ने कुरामा सरकारको पक्षमा रास्वपा सतिसाल बनेर खडा हुने छ,’ लामिछानेले भने, ‘सरकारले खुट्टा कमाउनु पर्ने केही पनि छैन ।’

उनले भदौ २३ गते सरकारले युवाहरूको आन्दोलनमा दमन गरेकाले २४ गते जनआन्दोलन भएको दाबी गरे ।

उनले निर्वाचनको विकल्प नभएको पनि बताए । ‘म लोकतन्त्रमा विश्वास गर्छु,’ उनले भने, ‘मलाई लोकतान्त्रिक प्रकृयाबाट नै न्याय मिल्नेमा विश्वास छ । मलाई लोकतन्त्रले अन्याय गरेको होइन, अपराधिहरूले अन्याय गरेका हुन् ।’

प्रतिशोधको राजनीति नगर्ने उल्लेख गर्दै उनले भ्रष्टाचारको महल ढालेरै छोड्ने उद्घोष गरे । ‘हामी भ्रष्टाचारको महल ढालेरै छोड्छौं,’ उनले भने, ‘हेलिकोप्टरमा झुन्डिएर भाग्नेहरूसँग म डराएर भाग्दिनँ ।’

जनताका मुद्धा बोकेर हिड्दा कहिले सिंहदरबार पुगिन्छ, कहिले नख्खु भन्दै आफू हतोत्साहित नभएको सन्देश उनले दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *