`

बालेनले बनाए खुला मञ्चलाई ‘चिटिक्क’, सर्वसाधरणका लागि सधैं खुला

Nepal One HD ६ पुष २०८२ १४:४४
प्रमुख खबर

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पपछि लामो समय बन्द रहेको काठमाडौंको रत्नपार्कस्थित ऐतिहासिक खुलामञ्च आजबाट औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ । विश्व ध्यान दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाले ध्यान कार्यक्रम आयोजना गर्दै खुलामञ्च अब सधैँका लागि खुला रहने घोषणा गरेको हो।

भूकम्पका कारण क्षति पुगेपछि बन्द गरिएको खुलामञ्च करिब एक दशकभन्दा बढी समय विभिन्न प्रयोजनमा प्रयोग हुँदै आएको थियो । काठमाडौँ टावर निर्माण सुरु भएसँगै यहाँबाट सार्वजनिक यातायात सञ्चालन गरिएको थियो भने मञ्च र रत्नपार्कबीचको भाग कालोपत्रे गरेर वैकल्पिक बसपार्क समेत सञ्चालन गरिएको थियो । भूकम्पपछि क्षतिग्रस्त वीर अस्पताल र दरबार हाइस्कुलको पुनर्निर्माणका क्रममा निर्माण सामग्री भण्डारण, श्रमिक आवास तथा अस्थायी विद्यालय सञ्चालनका लागि पनि खुलामञ्च प्रयोग भयो । गत वर्षसम्म सार्वजनिक यातायातको पार्किङ र पुनर्निर्माण सामग्री राख्ने थलोका रूपमा प्रयोग भएपछि खुलामञ्च आफ्नो मौलिक पहिचानबाट टाढिएको थियो ।

यस अवस्थालाई अन्त्य गर्दै काठमाडौँ महानगरपालिकाले नेपाल सरकारको स्वामित्व रहेको पूर्वाधार निर्माण कम्पनीसँग सहकार्य गरी आफ्नै लगानीमा खुलामञ्चको पुनर्निर्माण अघि बढाएको हो । २३ हजार ४१५ वर्गमिटर क्षेत्रफलमा फैलिएको खुलामञ्चमध्ये करिब १४ हजार ६ सय वर्गमिटर क्षेत्रमा प्राकृतिक नेपाली दुबो रोपिएको छ । उबडखाबड जमिन मिलाएर मलिलो माटो हालिएपछि चौर अहिले हरियाली र आकर्षक बनेको छ । चौरको चारैतिर चार मिटर चौडाइको पैदल मार्ग निर्माण गरिएको छ । सहरका अन्य स्थानमा फुटपाथ स्तरोन्नतिका क्रममा निकालिएका हेक्जागोनल ब्लक पुनः प्रयोग गरेर पैदल मार्ग बनाइएको हो । यस पैदल मार्गमा २१ वटा बिजुलीका पोल जडान गरिएका छन्, जसमा डे–नाइट सेन्सरयुक्त बत्ती राखिएको छ । यी बत्ती दिनमा आफै निभ्ने र रातमा आफै बल्ने प्रणालीका छन् ।

खुलामञ्चको पश्चिमतर्फको मुख्यद्वारमा पार्किङको व्यवस्था गरिएको छ । गिटीमाथि स्टोन डस्ट राखेर बनाइएको यो स्थान आवश्यक परे भलिबल र ब्याडमिन्टनजस्ता खेलका लागि पनि प्रयोग गर्न सकिनेछ । पानी जम्न नदिने र भू–जल पुनर्भरणका लागि चौरका विभिन्न छ स्थानमा वाटर रिचार्ज पिटहरू निर्माण गरिएका छन् । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरिरहेको खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत खुलामञ्च पुनर्निर्माण गरिएको हो । गत आर्थिक वर्षमा महानगरका सबै वडामा खेलकुद पूर्वाधार विकासका लागि विनियोजन गरिएको ६ करोड ९८ लाख ७० हजार रुपैयाँमध्ये करिब ९० लाख रुपैयाँ खर्च गरेर खुलामञ्चको काम सम्पन्न भएको मेयर बालेन्द्र शाह ‘बालेन’ ले जानकारी दिएका छन् ।

खुलामञ्च खुला नहुँदा विगत एक दशकयता राजधानीमा हुने ठूला राजनीतिक तथा सांस्कृतिक कार्यक्रमका लागि विकल्प खोज्नुपर्ने बाध्यता थियो । शान्तिबाटिका, दरबारमार्ग, टुँडिखेल र प्रदर्शनीमार्ग जस्ता स्थानमा सभा–समारोह हुँदा सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा ठूलो असर पर्दै आएको थियो । विभिन्न राजनीतिक दलहरूले सडकको अग्रभागमै सभा गर्न थालेपछि राजधानीको मुटु क्षेत्र बारम्बार जामको सिकार बन्ने गरेको थियो ।

ऐतिहासिक रूपमा खुलामञ्च नेपालका विभिन्न राजनीतिक परिवर्तन र जनआन्दोलनको साक्षी स्थल हो । उत्पीडित र दबिएका आवाजहरू उठ्ने थलोका रूपमा परिचित यो स्थान पुनः आफ्नै स्वरूपमा फर्किनुले राजधानीको सौन्दर्य र सहरी जीवनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ । अब खुलामञ्च बिहान शारीरिक अभ्यास गर्नेहरूका लागि खुला स्थान हुनेछ । बालबालिकाका लागि स्वतन्त्र खेल मैदान, पाका उमेरका नागरिकका लागि टहल्ने र आराम गर्ने ठाउँ, युवाहरूका लागि खेल र प्रशिक्षणको स्थल तथा सर्वसाधारणका लागि मर्निङ वाक र खुला चौरको रूपमा प्रयोग हुनेछ । दश वर्षको प्रतीक्षापछि खुलामञ्च पुनः राजधानीवासीको साझा आँगन बनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *