जेनजी आन्दोलनका सहिद: भ्रष्टाचार अन्त्य छत्रमानको सपना
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–१० चुनवाङ फलामेटोलका ६४ वर्षीया छत्रमान कुथुमी (पारुहाङ) राईका लागि देशमा मौलाइरहेको भ्रष्टाचारको अन्त्य भई सुशासनयुक्त राज्य प्रणाली भएको देख्ने ठूलो सपना थियो । त्यसैका लागि भएको आन्दोलनमा उनले शहादत मात्र प्राप्त गरेका छन्, नयाँ पुस्तालाई भ्रष्टाचारमुक्त समाज निर्माणमा लाग्न प्रेरित गरेका छन् ।
विसं २०१८ मा जन्मिएर स्थानीय भारती माविमा कक्षा ८ सम्म अध्ययन गरी धरान पब्लिक स्कुलबाट एसएलसी दिएका कुथुमी जीवनपर्यन्त कुशासनको अन्तय गर्ने अठोटका साथ निरन्तर डटिरहेका थिए । तीस वर्ष अघि गाउँ छोड्ेका उनी पछिल्लो समय काठमाडौँमा बसेर भ्रटाचार विरुद्धका विभिन्न आन्दोलनमा सहभागी हुँदै आएका थिए । ‘समाजमा व्याप्त बेथिती र भ्रष्टाचार विरुद्ध लड्नुमा उनको आक्रोश मात्र नभई एक प्रकारको सङ्घर्ष नै थियो’ उनका कान्छा भाइ डिम्पल कुथुमी राईले भने ।
भ्रटाचार विरुद्धको अभियान भन्ने बित्तिकै आफ्ना सबैकुरा भुलेर हरेक आन्दोलनमा उनी अग्रमोर्चामा उभिन्थे । ६४ वर्षको उमेरमा पनि उनी अन्य युवा भन्दा कम जोसिलो थिएनन् । उनी भन्छन्, ‘आफ्नो सबै चिज खर्चेर भ्रष्टाचारबिरुद्धको आन्दोलनमा लागेर आफू र परिवारका लागि दाइले केही गरेनन्।’ आन्दोलनको घोषणासँगै उनी पटक–पटक भ्रष्टाचारको विरुद्ध आन्दोलनमा होमिंदा छात्तीमा गोली खान पनि आफू तयार रहेको बताएको भाइ डिम्पल सम्झन्छन् ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले उनीभित्र रहेको विद्रोहको आगोलाई झन सल्किने अवसर मिल्यो । नभन्दै भदौ २३ गते भएको १८ जनाको गोली लागेर मृत्यु हुनेमा उनी पनि परेका छन् । दाजुलगायत जेन्जी आन्दोलनमा शहिद भएकाले देखेको सपना र बलिदान त्यसै खेर जान नदिन सरकारले उनीहरुको माग पूरा गर्नुपर्ने डिम्पलको माग छ ।
पारिवारिक रूपमा उनको जीवन त्यति सहज नभएको भाइ डिम्पल बताउँछन् । पटकपटक बैबाहिक जीवन असफल भएका कारण उनले चार वटी श्रीमती बिहे गरेका थिए । बिहे गरेपछि परिवारमा अपेक्षा हुने र त्यो अपेक्षा पूरा नभएपछि परिवारमा फुट भएकै कारण दाइले धेरै जनासँग बिहे गरेको उनको भनाइ छ । चार श्रीमतीबाट तीन छोरा र तीन छोरी छन् । उनी कान्छी श्रीमती दीपा श्रेष्ठसँंग २५ वर्षदेखि काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका थिए ।
बुबा स्व. बेलबहादुर कुथुमी तथा जेठी आमा कृष्णकुमारी राई र कान्छी आमा रामकुमारी राईका पाँच छोरामध्ये जेठो छोराको रूपमा जन्मिएका कुथुमीले २०५२ सालबाट घर छाडेर बेलाबखत मात्र गाउँ आउने गरेका थिए । छत्रमानको निधनको खबरले ८७ वर्षीया आमा रामकुमारीलाई गहिरो शोक परेको छ । बेलाबखत घरमा आएर आफूसँग ठट्यौली र रमाइलो गरिरहने छोराले ‘आमा म प्रधानमन्त्री नभई तिम्रो प्राण जाँदैन’ भन्ने गरेको र ‘आँ त हुन्छस्’ भनेको याद आमालाई आज पनि ताजै छ । ‘यसपालि पनि आउँछ होला जस्तो लागिराथ्यो तर एकैचोटी लास पो आयो’ आमाले भावुक हुँदै भनिन् ।
हाल साइँला छोरा किशोर कुथुमी राईसँग गाउँमै बस्दै आएका आमा कृष्णकुमारीले छोरा मरेर फिर्ता नआए पनि छोराले देखेको सपना पूरा होस् र अरुले यस्तो पीडा भोग्न नपरोस् भन्ने चाहना राखेका छन् । जेन्जी आन्दोलनमा शहिद भएका कुथुमीको शव नेपाली सेनाको हेलिकप्टरमार्फत् भदौ ३१ गते जन्मथलो पाख्रिवास नगरपालिका–१० चुङमाङ ल्याएर अन्त्यष्ठी गरिएको थियो । छत्रमानलाई सरकारले कात्तिक १८ गते शहिद घोषणा गरेर राहतस्वरुप नगद १५ लाख रकम सहयोग गरेको परिवार स्रोतले जानकारी दिएका छन् ।
नियमित घर नआउने श्रीमान् कहाँ गएका भन्ने थाहा नहुने भएकाले अचानक उनको मृत्युको खबरले आफू मर्माहत र छाँगाबाट खसेजस्तो भएको माइली श्रीमती रामकुमारी राईले सुनाईन् । देशमा आमुल परिवर्तन भए पनि गाउँ फर्कन्छु भन्ने दाइ कहिल्यै नफर्कने गरी काठको बाकसमा फर्कनु हुँदा परिवार मर्माहत भएको माइला भाइ खण्डमान बताउँछन् । परिवर्तनका लागि लागिरहने दाइको परिवारको हाल कुनै दिगो आर्थिक स्रोत नभएकाले राज्यले अभिभावकत्व लिनुपर्ने उनको भनाइ छ । घटनापछि भाउजु र नानीहरु गाउँमा फर्किएकाले दाइको परिवार तथा बच्चाको अध्यापनका लागि सरकारसँग उनको आग्रह छ ।
