`

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

Nepal One HD १० पुष २०८२ ७:३९
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय गरेको छ । रास्वपा सचिवालयको बुधबारको बैठकले आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रियासम्बन्धी विभिन्न निर्णय गरेको जनाइएको छ ।

बैठकले २०८२ पुस ५ गते आयोजित छलफल कार्यक्रममा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेदवार आकांक्षीहरूलाई पुनः छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

आकांक्षीहरूको प्रारम्भिक निर्वाचनबाहेक छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ । सो प्रक्रियाको आवश्यकताअनुसार पार्टी उपसभापति डा स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले अनुगमन गर्ने निर्णय गरिएको छ ।

प्रवासमा रहेका उम्मेदवार आकांक्षीहरूको मूल्याङ्कन भर्चुअल माध्यमबाट गर्ने निर्णय गरिएको छ । भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकलाई पुस १४ गते बिहान ९ बजेसम्म निर्वाचन आयोगमा बन्दसूची बुझाउनुअघि पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता झाले बताए ।

बैठकले उम्मेदवार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापति डोलप्रसाद अर्याल तथा डा स्वर्णिम वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यलाई सहभागी गराउने निर्णय गरेको छ ।

समानुपातिक उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरूको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदललाई दिइएको छ ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय सङ्गठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । रास्वपाले उम्मेदवार छनोट प्रक्रिया थप पारदर्शी, समावेशी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित यी निर्णय गरिएको प्रवक्ता झाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *