`

‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियो : रामप्रसाद भण्डारी

Nepal One HD ११ पुष २०८२ १७:०८
निर्वाचन विषेश

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताएका छन् । शुक्रवार आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको उनको भनाइ छ । उनले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै निर्वाचनको वातावरण बिथोल्ने प्रयास कसैले गरेको पाइए आयोगलाई सतर्क गराउन सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।

यस अवस्थामा राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत समेत ध्यानपूर्वक हेर्न उनको आग्रह छ । अन्तरिम सरकार गठनको समयमा राष्ट्रपतिले समेत संविधानअनुसार निर्वाचन गरिनुपर्ने र संविधानको संरक्षण तथा सुशासन कायम गर्न निर्वाचन नै एक मात्र विकल्प भएको कुरा राखेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्दै गर्दा राजनीतिक दलहरु कहाँ छन् ? के गर्दैछन् ? निर्वाचनलाई दलहरुले कसरी हेरिहरेका छन् भन्ने कुरा भुल्नु हुँदैन । यदि कुनै तह र तप्काबाट निर्वाचन बिथोल्न सक्रिय तत्वहरुले तपाईहरुले पहिचान गरिदिनु भयो हामीलाई धेरै सहयोग हुन्छ । मैले शुरुमै भनिसके निर्वाचनको विकल्प निर्वाचनबाहेक अरु केही हुन सक्दैन ।’

उनले भने, ‘त्यसकारण निर्वाचन बिथोल्ने तत्वहरु देखिए यहाँहरुले बेलैमा सचेत गराउनु पर्छ । सहज ढंगले समाचार समेत संप्रेषण गरिदिनु पर्छ । निर्वाचन हुन्छ कि हुँदैन कि ? कस्तो हुन्छ भन्ने विषयको छलफल अब सकियो । अब हामी त्यो बाटोमा प्रवेश गर्दैनौँ । हामी निर्वाचनको बाटोमा धेरै अगाडि बढिसक्यौँ । अब फर्किनसक्ने अवस्था र स्थिति छैन । राष्ट्रपति ज्यूले सरकार गठनकै बखत संविधानमा थोरै छेड्खानी भएपनि अब संविधानबमोजिम निर्वाचन हुन्छ, संविधानको संरक्षण गर्नुपर्छ, मुलुकमा सुशासन कायम गर्नको लागि अरु विकल्प छैन निर्वाचन नै हो भनेर भन्नु भएको छ । मुलुकले थप आन्दोलन थेग्न सक्दैन । त्यसकारण तपाई हामी गौरव साथ बाँच्ने प्रयोजनको लागि पनि निर्वाचनमा सबैलाई सक्रिय रुपमा सहभागि गराएर सक्षम व्यक्तिहरुलाई संसदमा पठाउने तपाई हाम्रो दायित्व हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *