`

सुदूरपश्चिममा सवारी दुर्घटनामा चार जनाको मृत्यु

Nepal One HD १२ पुष २०८२ १४:१६
समाज

काठमाडौँ । सुदूरपश्चिमका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ । कैलालीमा दुई जना तथा कञ्चनपुर र डडेल्धुरामा एक–एक जनाको मृत्यु भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। से ४ प ६७६० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकछेउको पिल्लरमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ लम्कीका २५ वर्षीय चालक अनिष भण्डारी र पछाडि सवार १५ वर्षीय तुफान भण्डारी घाइते भएका थिए । चालक अनिषको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो।

त्यसैगरी, कैलालीकै बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा अर्को मोटरसाइकल दुर्घटना भएको छ । से ७ प ८१६५ नम्बरको मोटरसाइकल पुलको किनारमा ठोक्किँदा घोडाघोडी नगरपालिका–११ का २४ वर्षीय चालक विशाल कठरिया र २३ वर्षीया रीता कठरिया घाइते भएका थिए । चालक विशालको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–५ वनसमिति क्षेत्रमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा म १ त ९३१ नम्बरको ट्याक्टर र सु प प्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा शुक्लाफाटा नगरपालिका–५ का ४५ वर्षीय गड्डु विक गम्भीर घाइते भएका थिए। टाउको र खुट्टामा चोट लागेका उनको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४० वर्षीय वीरराम पोखरेल घाइते भएका छन् । ट्याक्टर, चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *