मेयरको दौडमा रविका दाजु हरिशरण, स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौं । मध्यराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सहमतिलाई ‘सकारात्मक संकेत’ भन्दै रविका दाजु तथा रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौँको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
हरिशरण लामिछानेले सार्वजनिक वक्तव्यमार्फत दुई भाइबीच भएको राजनीतिक समझदारीप्रति सम्मान र खुशी व्यक्त गर्दै आफू काठमाडौँ महानगरको भावी मेयर पदको दौडमा उत्रिने प्रबल सम्भावना रहेको बताएका छन् । ‘दुई भाइको सम्झौताले देशको राजनीतिमा नयाँ सन्देश दिएको छ’, उनले उल्लेख गर्दै आफ्नो उम्मेदवारी स्वतन्त्र हुने स्पष्ट पारेका छन् ।
रेडियो नेपालबाट सेवानिवृत्त लामिछाने प्रसारण क्षेत्रका चर्चित र विवादास्पद पात्रका रूपमा चिनिन्छन् । विशेषगरी भदौमा भएको जेन्जी आन्दोलनका क्रममा उनले रेडियो नेपालको स्टुडियो प्रवेश गरी १५ मिनेटभन्दा बढी समय राष्ट्रिय प्रसारण नियन्त्रणमा लिएको घटनाले उनलाई व्यापक चर्चामा ल्याएको थियो ।
उनको उम्मेदवारी घोषणाले काठमाडौँको मेयर चुनाव थप रोचक बन्ने संकेत देखिएको छ । स्वतन्त्र उम्मेदवारको रूपमा लामिछानेको प्रवेशलाई केहीले वैकल्पिक राजनीतिक आवाजको रूपमा हेरेका छन् भने केहीले यसलाई प्रतीकात्मक र व्यंग्यात्मक राजनीतिक कदमका रूपमा टिप्पणी गरेका छन् । अब काठमाडौँको मेयर चुनावमा ‘लामिछाने’ थरको अर्को दाबीले मतदातामाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।
