`

निर्वाचन आचारसंहिता स्वीकृत, के–के गर्न पाइँदैन ?

Nepal One HD १३ पुष २०८२ १६:१८
निर्वाचन विषेश

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले निर्वाचनमा पालना गर्नुपर्ने नियम र सीमा तय गरेको हो । निर्वाचन आचारसंहितामा राजनीतिक दल र उम्मेदवारले प्रचार गर्दा कुन सामग्री प्रयोग गर्न पाउने र कस्ता गतिविधि गर्न नपाउने भन्ने स्पष्ट व्यवस्था गरिएको छ । प्रचारमा सवारी साधन प्रयोग गर्दा आयोगले केही सीमितता राखेको छ ।

चुनावी प्रचारमा घोडादेखि हेलिकप्टरसम्म प्रयोग गर्न पाइने व्यवस्था भएपनि, आयोगले दुई जना ‘स्टार’ प्रचारक मात्र हेलिकप्टर प्रयोग गर्न पाउने अनुमति दिएको छ । आचारसंहितामा भनिएको छ, ‘राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ र आयोगले अनुमति दिएमा मात्रै मुख्य प्रचारकले हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने छन् ।’

त्यस्तै, उम्मेदवारले दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे सवारी साधन प्रयोग गर्न पाउने छन् । गाडी चल्न नसक्ने ठाउँमा चार घोडासम्मको प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ । चुनावी प्रचारमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने र राष्ट्रिय झण्डाको प्रयोग १० वटाभन्दा बढी नगर्ने कडाइको नियम पनि रहेको छ ।

यस पटक आचारसंहितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगसम्बन्धी स्पष्ट निर्देश पनि समावेश गरिएको छ । आयोगले भनेको छ कि एआईको प्रयोग गरी निर्वाचनमा असर पार्ने, दुष्प्रचार गर्ने, भ्रामक सूचना फैलाउने वा अपमानजनक-द्वेषपूर्ण सामग्री निर्माण गर्ने काम गर्नु हुँदैन । सामाजिक सञ्जालमा एआई वा अन्य माध्यम प्रयोग गरेर सूचना तोडमोड गरी पोस्ट, शेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन जस्ता कार्य गर्न पनि निषेध गरिएको छ । निर्वाचन आचारसंहिताले यसरी प्रचारमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने उद्देश्य राखेको छ । आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *