`

फेरि रास्वपामै फर्किन लागेकी हुन् सुमना ?

Nepal One HD १३ पुष २०८२ १६:४१
राजनीति

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठ फेरि पुरानै पार्टीमा फर्किने तयारीमा देखिएकी छिन् । जेनजी आन्दोलनपछि रास्वपा परित्याग गरेकी उनी पुनः सोही राजनीतिक धारमा फर्किने तयारीमा रहेको चर्चा चल्न थालेको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच हालै भएको ७ बुँदे समझदारीसँगै सुमनाको भूमिकालाई लिएर नयाँ अड्कलबाजी सुरु भएको हो ।

स्रोतहरूका अनुसार बालेनको टिममार्फत सुमना रास्वपामा समाहित हुने सम्भावना बलियो देखिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उनलाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्नेबारे समेत अनौपचारिक छलफल भएको बताइन्छ । यद्यपि, यसबारे सुमनाले सार्वजनिक रूपमा कुनै औपचारिक घोषणा गरेकी छैनन् । सुमना श्रेष्ठले रास्वपामा रहँदा पार्टीभित्र ‘एक व्यक्तिको देवात्वकरण’, फरक विचारप्रति असहिष्णुता र आफूमाथि भएको अनावश्यक मिडिया ट्रायलको आरोप लगाउँदै भदौ २९ गते पार्टी छाडेकी थिइन् । त्यसपछि उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता औंल्याउँदै कुलमान घिसिङ, सुदन गुरुङ र बालेन साहसँग छलफल अघि बढाएकी थिइन् ।

त्यतिबेला नयाँ दल गठन, जेनजी आन्दोलनका अगुवालाई समेट्ने योजना र साझा नेतृत्वको बहस चले पनि नाम, नेतृत्व र चुनाव चिह्नमै सहमति नजुट्दा प्रयास सफल हुन सकेन । कुलमान घिसिङको नेतृत्वमा बनेको उज्यालो नेपाल पार्टीमा सुमना समेटिन नसक्नुले उनी अपेक्षित राजनीतिक ‘प्लेटफर्म’ बाट बाहिरिएको विश्लेषण समेत भयो । ‘युवा आइकन’ को रूपमा हेरिएकी सुमना अहिले राजनीतिक रूपमा क्रमशः एक्लिँदै गएको टिप्पणीहरू पनि हुने गरेको छ । रास्वपामा रहँदा संसदमा धारिला प्रस्तुति, छोटो समयको शिक्षामन्त्री कार्यकाल र सामाजिक मुद्दामा सक्रियताका कारण लोकप्रिय बनेकी उनी पार्टी छाडेपछि भने स्पष्ट राजनीतिक आधार बिना अघि बढेकी देखिन्छिन् ।

यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीसँगको सम्बन्ध पनि सहज नरहेको चर्चा सार्वजनिक भयो । सचिवालय व्यवस्थापन र पहुँचका विषयमा असमझदारी बढेपछि बालुवाटारसँग दूरी बढेको विश्लेषण गरिएको छ । त्यसयता जेनजी आन्दोलनमार्फत सरकारको आलोचना गरेको आरोप समेत उनीमाथि लाग्यो । जेनजी आन्दोलनभित्रै पनि सुमनाको भूमिकामाथि प्रश्न उठ्दै गएपछि उनको प्रभाव कमजोर हुँदै गएको संकेत देखिएको छ । यसैबीच नेतृ श्रेष्ठले बालेन र रास्वपाबीच भएको ७ बुँदे सहमतिलाई सकारात्मक रूपमा लिएकी छन् । उनले वैकल्पिक शक्तिहरूबीच एकता आवश्यक रहेको बताउँदै बालेन र रास्वपाले कुलमान घिसिङ तथा उज्यालो नेपाल पार्टीलाई समेत एकता प्रक्रियामा समेट्न मेहनत गर्नुपर्ने धारणा राखेकी छन् ।

उनका अनुसार यो एकताले संसद पुनःस्थापना विरोधी धारलाई निस्तेज गरेको छ र समयमै चुनाव गर्न बल पुगेको छ । ‘एकतापछि नयाँ शक्तिमा ठूलो जिम्मेवारी आएको छ’, भन्दै उनले जनतामा बढेको वितृष्णा सम्बोधन गर्न स्पष्ट खाका कोर्नुपर्ने आवश्यकता औंल्याइन् । एकता प्रक्रियापछि आफ्नो भूमिका के हुन्छ भन्ने प्रश्नमा उनले परिवर्तनका लागि जहाँ उपयोगी हुन्छ, त्यहीँ सहयोगी भूमिका खेल्ने बताइन् । सुमना श्रेष्ठको शैक्षिक र व्यावसायिक पृष्ठभूमि अझै पनि प्रभावशाली मानिन्छ ।

अमेरिकाको एमआईटी स्लोन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, ब्रिन मार र ह्याभरफर्ड कलेजबाट अर्थशास्त्र तथा गणितमा स्नातक गरेकी उनी बोस्टन कन्सल्टिङ ग्रुप र सिटी ग्रुपमा काम गरिसकेकी छन् । २०७२ सालको महाभूकम्पपछि नेपाल फर्किएर पुनर्निर्माण, काष्ठमण्डप र रानीपोखरी संरक्षण, कोभिड–१९ खोपका लागि अन्तर्राष्ट्रिय पहल जस्ता अभियानमा उनी अग्रपंक्तिमा देखिइन् । कारपुल काठमाडौँ, मेडिकेसन फर नेपाल जस्ता परियोजना र उद्यमशील प्रयासमार्फत उनले नविन समाधान खोज्ने नेतृको छवि बनाएकी थिइन् । तर अहिले पार्टी, आन्दोलन र सत्ता–सबैतिरबाट दूरी बढ्दै जाँदा उनको राजनीतिक भविष्य कुन दिशामा मोडिन्छ भन्ने प्रश्न गहिरिँदै गएको छ । रास्वपामा पुनः फर्किने सम्भावना, बालेन–रवि समीकरणमा उनको स्थान र वैकल्पिक शक्तिहरूबीचको एकतामा उनले खेल्ने भूमिकाले नै अब सुमना श्रेष्ठको राजनीतिक यात्राको अर्को अध्याय तय गर्ने देखिन्छ ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *