`

समानुपातिक उम्मेदवारको बन्दसुची बुझाउन के छ ठूला दलको तयारी ?

Nepal One HD १३ पुष २०८२ १९:३६
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेद्वारको बन्द सूची बनाउन ठूला दलहरू अन्तिम कसरत गरिरहेका छन् । 

सरकारले पौष १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवारको नाम बुझाइसक्न सुचित गरेको थियो।  यसकै लागि दलहरु उम्मेदवार छनोटको तिव्र तयारीमा लागेका हुन् । 

नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग समानुपातिक उम्मेद्‍वारबारे  छलफल भइरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

एमालेले समानुपातिक उम्मेदवारको नामको अन्तिम टुङ्गो लगाउन सचिवालय बैठक बसिरहेको छ । एमालेले समानुपातिक उम्मेदवारहरुको नाम तयार पारिसकेको छ । 

समानुपातिक उम्मेदवारको सुची तयार भइसकेको केन्द्रीय सदस्य महेश बर्तौलाले नेपालवन एचडीलाई जानकारी दिएका छन् । 

 ‘हामीले सबै नाम पनि टुङ्गो लगाईसकेका छौ‌ं,’ बर्तौलाले भने, ‘भोलीसम्म निर्वाचन आयोगमा सुची बुझाउछौँ ।’ 

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पनि समानुपातिक उम्मेदवार चयनका लागि छलफल गरिरहेको छ । भोलीसम्म समानुपातिक उम्मेदवार चयन भइसक्ने नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले बताए ।

यता विघटित प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सामानुपातिक उम्मेदवार चयनका लागि निर्वाचन गरिरहेको छ । समानुपातिक उम्मेदवार चयनका लागि गत पौष १० र ११ मा ब्लु प्रिन्ट संवाद चलाएको रास्वपाले देश तथा विदेशमा बस्ने पार्टी सदस्यहरुको मतदानबाट समानुपातिक उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाएको छ । तर, काठमाडौंका मेयर बालेन शाहसँग एकता गरेको हुँदा रास्वपाले ४० जना उम्मेद्वारको कोटा शाहलाई दिने छ । त्यसैले, रास्वपामा निर्वाचित भएका ११० उम्मेद्वारमध्ये ७० जना मात्रै उम्मेद्वार बन्न पाउनेछन् । 

बालेन शाह पक्षले पनि जेनजी अभियन्ताहरु, महानगरमा मेयर हुँदा सहयोग गर्ने व्यक्ति र सार्वजनिक रुपमा ख्याती कमाएका व्यक्तिलाई समेटेर सूची तयार पारिरहेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशैभारबाट समानुपातिक उम्मेदवारको नाम आइसकेको जनाएको छ । प्रवक्ता ज्ञानेन्द्र शाहीको सचिवालयले नेपाल वन एचडीसँग बताएअनुसार समानुपातिक उम्मेदवारको नाम प्राप्त भइसकेको र त्यसलाई भोलि बस्ने राप्रपाको पदाधिकारी बैठकले मुर्त रुप दिनेछ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *