बालेन र हर्क संसदीय राजनीतिमा आएपछि काठमाडौं र धरानमा मेयरको चुनाव कहिले हुन्छ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा लागेसँगै यी तीन स्थानीय तहको प्रमुख पद रिक्त हुने अवस्था देखिएको छ । कानुनअनुसार एकै व्यक्तिले एकै समयमा दुईवटा सार्वजनिक पद धारण गर्न नपाउने भएकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न मेयर पदबाट राजीनामा दिनु अनिवार्य हुन्छ ।
स्थानीय तहका प्रमुखले राजीनामा दिएमा वा कुनै कारणवश पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । विद्यमान कानुनअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको हकमा कार्यकाल समाप्त हुन ६ महिना बाँकी रहँदा उपनिर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ भने स्थानीय तहको हकमा १ वर्षभन्दा बढी कार्यकाल बाँकी भएमा उपनिर्वाचन गर्नुपर्ने प्रावधान छ ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको आमनिर्वाचनको मिति तोकेको छ । यही निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकतापत्रमा हस्ताक्षर गरिसकेका छन् । उता धरान उपमहानगरका मेयर हर्क साम्पाङ पनि संसदीय निर्वाचनको तयारीमा देश दौडाहामा व्यस्त छन् । त्यस्तै भरतपुर महानगरकि मेयर रेणु दाहाल पनि चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न उनीहरूले माघको पहिलो साताभित्र मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । यी केही प्रमुख पात्रबाहेक देशैभरका अन्य स्थानिय तहमा पनि जनप्रतिनिधिको पद रिक्त हुनसक्ने सम्भावना छ।
हाल स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल करिब १६ महिना बाँकी छ । यदि निर्धारित समयमै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो भने त्यस समयमा स्थानीय तहको कार्यकाल करिब १४ महिना मात्र बाँकी रहनेछ । यस्तो अवस्थामा काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा प्रमुख पद रिक्त भए पनि उपनिर्वाचन गरिने वा नगरिने भन्ने विषयमा अन्यौल उत्पन्न भएको छ ।
यस विषयमा निर्वाचन आयोगले भने कानुनी व्यवस्थाका आधारमा सरकारसँग परामर्श र समन्वय गरेर निर्णय गर्ने बताएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले कुनै स्थानीय तहमा जनप्रतिनिधि रिक्त भएमा उपनिर्वाचन गर्ने वा नगर्ने भन्ने निर्णय सरकारसँगको छलफलपछि मात्र टुंगो लगाइने जानकारी दिए ।
उनका अनुसार हालसम्म काठमाडौँ महानगरपालिका, भरतपुर महानगरपालिका र धरान उपमहानगरपालिकामा औपचारिक रूपमा पद रिक्त भइसकेको अवस्था छैन । ‘यदि सम्बन्धित पद रिक्त भयो भने कानुनअनुसार सरकारसँग छलफल गरेर आवश्यक निर्णय लिन्छौं,’ भट्टराईले नेपालवन एचडीसङ्ग भने ।
बालेन शाह, रेणु दाहाल र हर्क साम्पाङ तीनै प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटिरहेका बेला उनीहरूले सम्हालेका स्थानीय तहमा नेतृत्व रिक्तताको सम्भावना र त्यसको व्यवस्थापन कसरी हुन्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ ।
