`

नवनिर्मित भवनबाट काठमाडौँ महानगर वडा नं. २ को प्रशासनिक सेवा प्रारम्भ

Nepal One HD १४ पुष २०८२ १५:५९
समाचार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २ ले लाजिम्पाटस्थित नर्सरी मार्गमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रारम्भ गरेको छ । यसअघि वडा कार्यालय लाजिम्पाट मार्गबाट नीलसरस्वती मार्गतर्फको सडक खण्डमा थियो ।

नवनिर्मित भवनको उद्घाटन गर्दै वडा नम्बर २ का  वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सार्वजनिक सम्पत्ति समूहको कब्जाबाट नागरिकहरुको सेवा गर्ने ठाउँमा रुपान्तरण गर्न पाउनु आफ्नो कार्यकालका महत्वपूर्ण काममध्येको एउटा भएको उल्लेख गरे । त्यस्तै काठमाडौँ महानगरका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले पूर्वाधार निर्माणसँगै चुस्त सेवा प्रवाह हुने अपेक्षा रहेको बताए । 

सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार नवनिर्मित भवन अवस्थित जमीनको  क्षेत्रफल २ हजार ४४३ वर्गफुट छ । त्यस्तै, भवनको क्षेत्रफल १२ हजार ५२७ वर्गफुट छ । सुरुमा भवन निर्माणका लागि ओभरहेड, कन्टिजेन्सी र प्रोभिजनल समेत गरेर ५ करोड ५१ लाख ६ हजार ८५ रुपियाँ लागत अनुमान गरेपनि निर्माण सम्पन्न भईसक्दा भवन निर्माणमा करकट्टी गरेर  ४ करोड ९१ हजार ५२४ रुपियाँ खर्च भएको छ । 

२०७८ बैशाख १५ गते निर्माण थालिएको भवनलाई त्यसै वर्षको चैत मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । वडाको प्रशासनिक काम नयाँ भवनबाट थालिएपछि पुरानो भवनमा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *