कांग्रेसले समय सीमाभित्र किन बुझाउन सकेन समानुपातिकको बन्दसूची ?
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची समयमै निर्वाचन आयोगमा बुझाउन नसक्दा राजनीतिक वृत्तमा चासो बढेको छ । आयोगले तोकेको समयसीमा सकिँदासम्म पनि आवश्यक कागजात पूरा नभएपछि कांग्रेसको बन्दसूची प्रक्रिया रोकिएको हो ।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार) समय तोकेको थियो । सोही अनुसार दलहरू रातभर आयोगमा नामावली बुझाउने प्रक्रियामा सक्रिय थिए । कांग्रेसका तर्फबाट पनि नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल बन्दसूचीसहित आयोग पुगेका थिए ।
मंगलबार बिहान करिब ४ बजे महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि निर्वाचन आयोग पुगे । तर, आयोगमा बुझाउन ल्याइएको नामावलीको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नरहेको पाइएपछि आयोगका कर्मचारीले नामावली स्वीकार गर्न मानेनन् । हस्ताक्षर अनिवार्य कागजात भएकाले प्रक्रिया अघि बढ्न नसकेको हो ।
त्यसपछि महामन्त्री शर्माको पहलमा मुख्य सचिव पौडेल र नेता विश्वकर्मालाई सभापति देउवाको हस्ताक्षर गराउन महाराजगञ्जस्थित निवास पठाइएको थियो । उनीहरू हस्ताक्षर गराएर आयोग फर्किने तयारीमा रहेको भए पनि समाचार तयार पार्दासम्म नामावली बुझिसकिएको थिएन ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (मंगलबार) विहान भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं, काम टुंग्याउने प्रक्रियामा छौं ।’ उनका अनुसार प्राविधिक कारणले मात्र ढिलाइ भएको र बन्दसूची छिट्टै बुझाइनेछ ।
यद्यपि, निर्वाचन आयोगका एक कर्मचारीले कांग्रेसले यसअघि नै आवश्यक निवेदन बुझाइसकेको र सनाखत समेत गराइसकेको भन्दै मंगलबार पनि बन्दसूची बुझाउन सक्ने अवस्था रहेको जानकारी दिए । सभापतिको हस्ताक्षर जस्तो सामान्य तर अत्यावश्यक प्रक्रियामा समन्वय नहुँदा देशकै ठूला दलमध्ये एक नेपाली कांग्रेस समयसीमामा चुक्न पुगेको भन्दै राजनीतिक विश्लेषकहरूले पार्टीको आन्तरिक व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।
