`

निर्वाचनमा कांग्रेस–एमाले सहकार्यको संकेत, उठ्दै रणनीतिक तालमेलको बहस

Nepal One HD १५ पुष २०८२ १६:२४
निर्वाचन विषेश

काठमाडौं । संविधान र लोकतन्त्र जोगाउन प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बहस कांग्रेस र एमाले दुवैतर्फ उठ्न थालेको छ । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले सहकार्य, रणनीति र सम्भावित निर्वाचन तालमेलबारे धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले संविधान निर्माणका पक्षधर शक्तिहरू अब मिलेर अघि बढ्नुपर्ने बताए । कांग्रेस विधि र व्यवस्थाका सवालमा एमालेसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले निर्वाचनमा भने स्वस्थ प्रतिष्पर्धा हुने स्पष्ट पारे । विश्वकर्माले एमालेको हालै सम्पन्न ११औं महाधिवेशनले दुई महत्वपूर्ण सन्देश दिएको बताए । उनका अनुसार पहिलो, अस्थायी रूपमा त्रास सिर्जना गर्ने प्रवृत्तिविरुद्ध स्थापित राजनीतिक दलहरू एकजुट हुन थालेका छन् । दोस्रो, अस्थायी र अराजनीतिक समूहले स्थापित दलहरूलाई पराजित गर्न नसक्ने सन्देश महाधिवेशनबाट प्रवाह भएको छ ।

एमालेसँग विगतदेखि नै सहकार्यको इतिहास स्मरण गराउँदै उनले भने, ‘२०४६ सालको जनआन्दोलनदेखि २०६२–६३ को आन्दोलन र संविधान निर्माणसम्म हामी सँगसँगै उभिएका थियौं । अहिले फेरि संकट आएको छ, यो बेला पनि हामीले डटेर, भिडेर लड्नु पर्छ ।’ पार्टी सभापति शेरबहादुर देउवाको सन्देशका रूपमा विश्वकर्माले कांग्रेसको नीति स्पष्ट पार्दै भने, ‘कांग्रेसको कसैसँग स्थायी मित्रता वा दुश्मनी हुँदैन । हामी मुद्दामा सहकार्य गर्छौं, जनताको पक्षमा सहकार्य गर्छौं ।’ उनका अनुसार अहिले देशमा देखिएको संकट समाधान गर्न संविधान पक्षधर शक्तिहरू मिलेर ‘पहिले आगो निभाउने’ र त्यसपछि विधि र व्यवस्था जोगाउन संयुक्त रूपमा संघर्ष गर्नुपर्नेछ । व्यवस्था स्थापित भएपछि आपसी तिक्तता बिना निर्वाचनमा प्रतिष्पर्धा गर्न सकिने उनको भनाइ थियो ।

उही कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले अझ एक कदम अगाडि बढ्दै आगामी निर्वाचनमा कांग्रेस र एमाले मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले लोकतन्त्र खतरामा पर्दा विगतमा वामपन्थीको नेतृत्व एमालेले र लोकतन्त्रवादीको नेतृत्व कांग्रेसले गर्दै आएको स्मरण गराउँदै वर्तमान परिस्थितिमा पनि दुवै शक्तिले संयुक्त रणनीति बनाउनु पर्ने बताएका छन् । थापाका अनुसार अगाडि दुईवटा बाटो छन्–नयाँ संसदमार्फत वामपन्थी र लोकतन्त्रवादी शक्तिको वर्चस्व स्थापित गर्ने वा दुई शक्तिको वर्चस्व रहेको पुरानै संसद पुनस्र्थापना गरेर लोकतन्त्रलाई मजबुत बनाउने । अदालत र सडक दुवै माध्यमबाट फागुन २१ गतेसम्म पुरानो संसद पुनस्र्थापनाको सम्भावना रहेको उनले बताएका छन् ।

यदि निर्वाचन हुने अवस्था आएमा ‘डिप स्टेट’ प्रवृत्तिविरुद्ध रणनीति बनाएर अघि बढ्नुपर्ने उनको जोड थियो । ‘१६५ निर्वाचन क्षेत्र लोकतन्त्र पुनर्स्थापनाका १६५ मोर्चा हुन्’, भन्दै उनले आधा क्षेत्रमा वामपन्थी र आधा क्षेत्रमा लोकतन्त्रवादी शक्तिले जित्ने, समानुपातिकतर्फ पनि त्यही सन्तुलन कायम गर्ने रणनीति प्रस्ताव गरे । गोष्ठीमा व्यक्त यी धारणाले वर्तमान राजनीतिक संकटको समाधानका लागि कांग्रेस–एमाले सहकार्य सम्भावनालाई थप बल दिएको देखिन्छ । अब यो सन्देश व्यवहारमा कसरी रूपान्तरित हुन्छ, त्यो भने आगामी राजनीतिक घटनाक्रमले तय गर्नेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *