`

नेताहरुले दौडधूप थाल्नु भएको छ, निर्वाचन सुनिश्चित छ : मन्त्री खरेल

Nepal One HD १६ पुष २०८२ १७:२७
निर्वाचन विषेश

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले फागुन २१ गते हुने निर्वाचन सुनिश्चित भइसकेको र अब कुनै अन्योल नरहेको दावी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । खरेलका अनुसार शीर्ष नेताहरू निर्वाचनको तयारी र प्रचारमा व्यस्त हुन थालेका छन् ।

उनले पछिल्लो २९ वर्षमा देखिएका अत्यन्त ठूला मुद्दाहरू अदालतसम्म पुगेको उल्लेख गर्दै यसले सुशासनको जग बसाल्ने काम गरेको बताए । ‘मलाई अनुभूति भएको छ, मुलुक निर्वाचनमय भएको छ,’ खरेलले भने, ‘शीर्ष नेताहरुले दौडधूप गर्न थाल्नुु भएको छ । प्रत्यक्ष निर्वाचनका लागि १६५ सिट निर्धारण गर्नुपर्नेछ । अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल समाप्त भएको छ । अब चुनाव सुनिश्चित भएको छ ।’

सञ्चारमन्त्री खरेलले पछिल्लो २० वर्षको इतिहासमा अदालतमा दर्ता भएका भ्रष्टाचारका मुद्दा सबैभन्दा धेरै भएको दाबी समेत गरे । कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले भोग्नुपरेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । उनका अनुसार ३८ अर्ब रुपैयाँभन्दा बढीको निजी क्षेत्रको सम्पत्ति सहित कुल ८४ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति हुँदा मन रोएको अवस्था छ ।

खरेलले प्रधानमन्त्री तथा सरकारले निजी क्षेत्रलाई साथ दिएको उल्लेख गर्दै उद्योग, व्यापार र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण र सुरक्षाको प्रत्याभूति सबैको साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिए । उनले भने, ‘निजी क्षेत्रलाई इन्कार गरेर समाजवाद सम्भव हुँदैन । उद्योग–व्यवसाय फस्टाउने वातावरण बनाउनु आजको आवश्यकता हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *