आयोगले फागुन २१ का लागि के-के तयारी गर्यो, के-के बाँकी छ ? (भिडियाेसहित)
७५ प्रतिशत तयारी सकिएको आयोगको दाबी
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अन्तिम चरणको तयारी तीव्र रूपमा अघि बढाइरहेको छ । सबै राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेपछि आयोगले छपाइ, मतदाता शिक्षा, मतदाता नामावली अद्यावधिक, जनशक्ति व्यवस्थापन र निर्वाचन सामग्री तयारीजस्ता कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
नेपालवन एचडीसँगको अन्तर्वार्तामा निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जी.सी ले निर्वाचन पूर्व तयारीको करिब ७० देखि ७५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । ‘अब केही लजिस्टिक र व्यवस्थापनसँग सम्बन्धित काम बाँकी छन्, ती पनि छिट्टै सकिन्छ,’ उनले भने।
उनका अनुसार निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार नै सम्पूर्ण प्रक्रिया अगाडि बढिरहेको छ । कानुनी सुधार, जनशक्ति व्यवस्थापन, मतदाता नामावली संकलन, निर्वाचन अधिकृतको अभिमुखीकरण, निर्वाचन सामग्री तयारी लगायतका कार्यहरू समानान्तर रूपमा भइरहेको उनले बताए ।
समानुपातिक बन्दसूचीको छानबिन र अन्तिम टुंगो
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने सबै राजनीतिक दलहरूले बन्दसूची बुझाइसकेका छन् । जी.सी.का अनुसार आयोगले ती सूचीहरूमा आवश्यक छानबिन गरिरहेको छ । ‘ दलहरुले बुझाएको सूचीमा कुनै प्राविधिक त्रुटि भेटिएमा सम्बन्धित दललाई जानकारी गराइन्छ र सुधारका लागि समय दिइन्छ,’ उनले भने ‘दलहरुले बुझाएको सूचीको नाम भने परिवर्तन हुदैन, कुनै अन्य किसिमको तृती भेटिएमा हामी सच्याउछौ।’ निर्वाचन चिन्हको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको आयोगको भनाइ छ । केही दिनभित्रै निर्वाचन चिन्ह एकिन भएपछि समानुपातिक तर्फका मतपत्र छपाइ सुरु गरिने तयारी छ । प्रत्यक्ष तर्फ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्र मतपत्र छापिनेछ ।
मतदाता शिक्षा अभियानलाई प्राथमिकता
नेपालले विगत लामो समयदेखि आवधिक निर्वाचनको अभ्यास गरिरहेको छ । प्रत्येक निर्वाचनमा आयोगले चुनावमा हुने मत बदरलाई घटाउन मतदाता शिक्षा अभियान पनि संचालन गर्दै आईरहेको छ । तर बदर हुने मतको संख्या कम भने भईरहेको छैन । यसपल्टको निर्वाचनमा पनि मत बदर हुने संख्या घटाउने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा अभियानलाई विशेष महत्व दिएको छ । आयोग अन्तर्गतको छुट्टै निर्वाचन शिक्षा शाखाले देशव्यापी रूपमा मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेको सहायक प्रवक्ता जी.सी.ले जानकारी दिए ।
‘ मतदाता शिक्षाको मुख्य लक्ष्य भनेको सकेसम्म सदर मतको प्रतिशत बढाउनु हो,’ उनले भने, ‘नमूना मतपत्रसहितको मतदाता शिक्षा कार्यक्रम बजेट र स्रोतको उपलब्धताअनुसार केन्द्रदेखि जिल्ला तहसम्म सञ्चालन हुन्छ।’ आयोगले हरेकपल्ट जस्तै यसपल्ट पनि स्थानीय तह, विद्यालय र शिक्षकहरूसँग समन्वय गरेर मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गर्ने परम्परा यसपटक पनि निरन्तर रहने आयोगको तयारी छ । बजेटको आकारअनुसार कार्यक्रमको स्वरूप निर्धारण गरिने उनले स्पष्ट पारे ।
मतपत्र छपाइ र निर्वाचन सामग्री तयारी
मतपत्र छपाइको काम समानुपातिक र प्रत्यक्ष प्रणालीअनुसार फरक-फरक चरणमा हुने आयोगले जनाएको छ । समानुपातिक तर्फ दलहरूको संख्या र निर्वाचन चिन्ह एकिन भएपछि मतपत्र छपाइ सुरु हुनेछ भने प्रत्यक्षतर्फ उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्र छपाइ गरिनेछ । यसपटक मतपत्र जनक शिक्षा सामाग्री केन्द्रले छाप्ने प्रवक्ता जी.सी. ले बताए । निर्वाचन सामग्रीका सन्दर्भमा आयोगले ३७ प्रकारका लजिष्टिक सामग्री जिल्ला स्तरमै खरिद गर्न अख्तियारी दिइसकेको छ । ती सामग्रीका विस्तृत विवरण र बजेटसमेत सम्बन्धित जिल्लामा पठाइसकिएको छ । केन्द्रबाट खरिद गर्नुपर्ने ८ प्रकारका सामग्रीको प्रक्रिया पनि अघि बढिसकेको आयोगको भनाइ छ ।
मतपेटिका र मतदान केन्द्रको अवस्था
मतपेटिकाको अभाव नहुने गरी व्यवस्थापन गरिएको आयोगले जनाएको छ । ‘अधिकांश जिल्लामा अघिल्ला निर्वाचनमा प्रयोग भएका मतपेटिकाहरू सुरक्षित रूपमा राखिएको छ’, उनले भने, ’अपुग भएका स्थानमा प्रदेश वा केन्द्रबाट पठाइने व्यवस्था मिलाइएको छ ।’ मतदान स्थलको सन्दर्भमा यसपटक करिब ७५ वटा नयाँ मतदान केन्द्र थप गरिएको जानकारी पनि आयोगले दिएको छ। केही पुराना मतदान केन्द्रहरु हेरफेर गरिएको छ भने आवश्यकताअनुसार देशैभरी नयाँ केन्द्र थप गरिएको हो ।
निर्वाचन सुरक्षा योजना तयार
निर्वाचन सुरक्षाका विषयमा आयोग, गृह मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित निकायबीच नियमित समन्वय र सहजीकरण भइरहेको छ । हरेक जिल्लामा निर्वाचन सुरक्षा योजना तयार गरिएको र मतदान केन्द्रलाई संवेदनशीलता अनुसार वर्गीकरण गरिएको सहायक प्रवक्ता जी.सी ले बताए । ‘नेपाल सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘त्यसैले सुरक्षाका विषयमा आयोग चिन्तित हुनुपर्ने अवस्था छैन ।’
जनशक्ति व्यवस्थापन
निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन जिल्ला स्तरमै हुने व्यवस्था छ । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनशक्ति व्यवस्थापन समिति गठन गरिएको हुन्छ । प्रमुख जिल्ला अधिकारीले नै निर्वाचन अधिकृतसँग समन्वय गरेर आवश्यक कर्मचारी परिचालन गर्छ । ‘ मतदान केन्द्रमा खटिने कर्मचारीको अभाव हुँदैन। यसपटक पनि निर्वाचन सहजता पुर्वक सम्पन्न गर्न जनशक्ति व्यवस्थापनमा निर्वाचन आयोगले कुनै कसुर बाँकि राख्दैन’, जी.सीले भने, ‘यसपटक पनि पर्याप्त जनशक्ति उपलब्ध हुने हाम्रो विश्वास छ ।’
पर्यवेक्षकहरूको सहभागिता
निर्वाचन आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । हालसम्म चारवटा अन्तर्राष्ट्रिय संस्था र करिब ४० वटा राष्ट्रिय संस्थाले आयोगबाट निर्वाचन पर्यवेक्षणको अनुमति पाइसकेका छन् । सबै पर्यवेक्षकहरूले तोकिएको मापदण्ड र आचारसंहिता पालना गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ । ‘पर्यवेक्षकको लागि निर्वाचन आयोगले सुचना आह्वान गरेको थियो। त्यसमा चारवटा अन्तराष्ट्रिय र ४० वटा राष्ट्रिय संस्था पर्यवेक्षकको रुपमा आयोगको छनोटमा परेका छन्,’ प्रवक्ता जी.सीले बताए ।
निर्वाचन बजेट र सरकारको प्रतिबद्धता
निर्वाचन सम्पन्न गर्न सरकारको तर्फबाट कुनै पनि किसिमको कमि नरहने सरकारले प्रतिवद्वता जनाएको आयोगले जनाएको छ । निर्वाचन खर्चका विषयमा प्रारम्भमा चुनौती देखिए पनि नेपाल सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको आयोगको भनाइ छ । बजेट दुई चरणमा प्राप्त भइसकेको र आवश्यक परे थप बजेट पनि उपलब्ध गराइने विश्वास आयोगले व्यक्त गरेको छ।
निर्वाचन सुरक्षा, जनशक्ति व्यवस्थापन, सामाग्री खरीद, सामाग्री छपाई लगायतका कामहरुको लागि थप बजेट आवश्यक परेको अवस्थामा अर्थ मन्त्रालय र सम्बन्धित निकायबीच समन्वय भइरहेको जानकारी पनि आयोगले दिएको छ ।
आयोगको विश्वास : निर्वाचन समयमै र निष्पक्ष रूपमा सम्पन्न हुन्छ
सहायक प्रवक्ता कुल बहादुर जी.सी.का अनुसार निर्वाचन आयोग सुरुदेखि नै निर्वाचन समयमै सम्पन्न गर्न दृढ रहेको छ । ‘निर्वाचन आयोग रेफ्री हो, खेलाडी राजनीतिक दल हुन्। हामीले मानदारीताका साथ रेफ्रीको काम गर्छौँ ,’ उनले भने, ‘हाम्रो जिम्मेवारी भनेको स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनु हो।’ उनले मिडिया, राजनीतिक दल र सम्पूर्ण सरोकारवालालाई निर्वाचनको वातावरण सकारात्मक बनाउन सहयोग गर्न आग्रहसमेत गरे। ‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो,’ उनले भने, ‘सबैको सहकार्यबाट मात्र सफल निर्वाचन सम्भव हुन्छ।’
