`

नयाँ शक्तिको दबाव : पुराना दल राष्ट्रिय सभादेखि प्रतिनिधिसभासम्म गठबन्धनको कसरतमा

Nepal One HD २१ पुष २०८२ १२:११
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली राजनीतिमा पुराना दलहरूबीच पुनः सहकार्यको बहस तीव्र बनेको छ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने स्पष्ट संकेत गरेको छ भने प्रतिनिधिसभा निर्वाचनमा भने एक्लै मैदानमा उत्रिने रणनीति सार्वजनिक गरेको छ । उता, वैकल्पिक राजनीतिक शक्तिहरूको एकीकरणले दशकौंदेखि सत्ता केन्द्रमा रहेका दलहरूलाई थप दबाबमा पारेको देखिन्छ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले गठबन्धन गरेर अघि बढ्ने बताएका छन् । आइतबार काठमाडौंको जमलस्थित एक होटलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सभापति शेरबहादुर देउवाको निवासमा यसबारे छलफल भइसकेको र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट ठोस निर्णय आउने जानकारी दिए । उनका अनुसार कुन–कुन दलसँग तालमेल गर्ने भन्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले संवाद गरिरहेका छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस एक्लै जित्ने अवस्था नरहेकाले तालमेल आवश्यक भएको सिटौलाको भनाइ छ । तालमेलपछि कुन प्रदेश र कुन सिटमा कांग्रेसका उम्मेदवार हुने भन्ने विषय पनि तय गरिने उनले बताए । तर, फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने स्पष्ट पारे ।

राजनीतिक वृत्तमा भने यो घोषणालाई व्यापक सन्दर्भमा हेरिएको छ । गत भदौमा देखिएको ‘जेनजी’ आन्दोलनपछि बदलिएको राजनीतिक समीकरणले पुराना दलहरूलाई पुनः एक ठाउँमा उभिन बाध्य बनाएको विश्लेषण भइरहेको छ । वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरका मेयर बालेन साह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ समाहित भएपछि नयाँ शक्तिको मोर्चा थप सशक्त बनेको छ ।

यसको प्रत्यक्ष असर कांग्रेस, एमाले र माओवादी–एकीकृत समाजवादी जस्ता दलहरूमा परेको छ । एक्ला–एक्लै चुनावमा उत्रिँदा नयाँ शक्तिसँग प्रतिष्पर्धा गर्न कठिन हुने निष्कर्षसहित यी दलहरूभित्र ‘अघोषित महागठबन्धन’ को गृहकार्य भइरहेको बताइन्छ । विशेष गरी राष्ट्रिय सभा निर्वाचनलाई उनीहरूले आगामी आम निर्वाचनको ‘लिटमस टेष्ट’ का रूपमा लिएका छन् ।

रिक्त १८ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा तीन ठूला दलबीच सहमति बने सातै प्रदेशमा उनीहरूको जित सहज हुने आँकलन छ । त्यसैले मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा दोस्रो तहका नेताहरू साझा उम्मेदवार तय गर्न सक्रिय छन् । कांग्रेसका पूर्णबहादुर खड्का र रमेश लेखक, एमालेका शंकर पोखरेल तथा नेकपाका वर्षमान पुनबीच निरन्तर छलफल भइरहेको स्रोतहरू बताउँछन् । यसैबीच, अन्तरिम सरकारप्रति असन्तुष्टि पनि सतहमा आएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको गोप्य भेटमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष चुनावी वातावरण बनाउन नसकेको निष्कर्ष निकालिएको बताइन्छ । सुरक्षा चुनौती बढिरहेका बेला नेताहरूको सुरक्षाकर्मी कटौती गरिएको र सरकार पक्षधर देखिएको विषयमा दुवै नेताबीच गम्भीर छलफल भएको जनाइएको छ । राजनीतिक सरगर्मीबीच प्रचण्ड आइतबार साँझ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । सचिवालयले यसलाई पूर्व निर्धारित कार्यक्रम भने पनि चुनावको मुखमा भएको भ्रमणलाई चासोका साथ हेरिएको छ । तीन ठूला दलबीच सहकार्यको प्रयास, नयाँ शक्तिको उदय र सरकारप्रतिको असन्तुष्टिले आगामी निर्वाचनलाई थप रोचक र निर्णायक बनाउने संकेत देखिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *