`

कहाँ अलमलियो काँग्रेस ?

Nepal One HD २२ पुष २०८२ १७:४८
नेपाली कांग्रेस

जेन-जी आन्दोलनपछि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसहित दलको पुनर्संरचना गर्ने मागलाई सबैभन्दा पहिले स्वीकार गर्ने पार्टी काँग्रेस बनेको थियो । तर, समय बित्दै जाँदा आन्दोलनमा उठेका यी मुद्धा कार्यन्वयनमा लैजाने कुरामा सबैभन्दा धेरै अलमल कांग्रेसभित्रै देखिएको छ । कांग्रेस कहाँ अलमDuयाे, स्वयं कांग्रेसीजनले नै भेउ पाउन सकिरहेका छैनन् ।

आन्दोलनकारीबाट नराम्रोसँग पिटिएका सभापति शेरबहादुर देउवा त्यसबेला राजनीतिबाट विश्राम लिन तयार भएका थिए। अस्पतालमा उपचार गराइरहेकै अवस्थामा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर पार्टी राजनीतिबाट बिदा लिने बताइसकेका थिए ।

आन्दोलन लगत्तै पार्टीका महामन्त्री गगन थापाले आन्दोलनकारीले उठाएको पार्टी पुनर्संरचना र लोकतान्त्रिकरणको मुद्धा पार्टीभित्र जोडतोडले उठाए । उनलाई अर्का महामन्त्री विश्‍वप्रकाश शर्माले पनि जमेरै साथ दिए । तत्कालीन सरकारमा स्वास्थ्यमन्त्री रहेका नेता प्रदीप पौडेल पनि थापाकै पक्षमा उभिए ।

थापा समूहले महाधिवेशनबाटै पार्टीको नेतृत्व परिवर्तन र पुनर्संरचनाको मुद्धा स्थापित गर्ने प्रयास थाल्यो । यसै पनि कांग्रेसले मंसिरमा महाधिवेशन गर्नैपर्ने थियो । अहिलेको नेतृत्वको आयु सकिएकाे त सकिएकै थियो । त्यहीँ माथि जेनजी आन्दोलनको दबाव र देउवाले नेतृत्वबाट बिदा लिन खोजिरहेको अवस्था । महाधिवेशन त कसो नहोला र भन्‍ने नै अवस्था थियो ।

तैपनि, देउवाको छत्रछायाँमा रहेका ‘सात भाइ’ नेताहरूले गगन थापा सभापति हुने डरले महाधिवेशन हुन नदिने हुन् कि भन्‍ने आशंका देखिएपछि थापा समूहले विशेष महाधिवेशनको डर देखाउन थाल्यो । कांग्रेसमा ५४ प्रतिशत प्रतिनिधिले माग गरे विशेष महाधिवेशन गर्नैपर्ने हुन्छ। थापा पक्षले ५४ प्रतिशत हस्ताक्षर पनि जुटायो ।

त्यतिबेला लाग्थ्यो, विशेषको दबावले काँग्रेसले नियमित महाधिवेशन नै गर्छ । नभए, विशेष त कसैले रोक्न सक्दैन ।

त्यसपछि नेपाली राजनीतिमा धेरै नाटकीय घटनाहरू भए । अध्यक्षबाट संयोजक बनेका प्रचण्डले माधव नेपालको नेकपा एस लगायतसँग एकता गरेर आफ्नो सान्दर्भिकता जोगाए । प्रचण्डले माओवाद छोडेको आरोप लगाउँदै नेता जनार्दन शर्माको समूह 0७२ सालमै मार्क्सवाद छोडेका बाबुराम भट्टराईसँग मिल्न पुगे । राजनीति छोडेँ भनेका बाबुरामको सक्रियता बढ्यो ।

जेनजी आन्दोलनमा सबैभन्दा रक्षात्मक भएको नेकपा एमालेले महाधिवेशन गर्‍यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएर पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्‍न महाधिवेशनबाटै खारेज गरिदियो ।

आन्दोलनका बेला जेलबाट निस्किएछि ‘गो ब्याक टु सेल’ भनिएका रवि लामिछाने धरौटीमा रिहा मात्रै भएनन्, सिंगो आन्दोलनको स्वामित्त्व लिँदै वैकल्पिक शक्तिहरूको एकता गर्न सक्रिय भए । उनले लोकप्रिय छवि भएका काठमाडौं महानगरका मेयर बालेन शाहदेखि ऊर्जामन्त्री कुलमान घिसिङसम्मलाई पार्टीमा ल्याए । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारे, जसले सार्वजनिक रुपमा एकपटक सबैको ध्यान रास्वपामा खिच्यो ।

तर, कांग्रेस भने अझै बैठकदेखि बैठकसम्म अलमल्लिइरहेको छ । विशेष कि नियमित महाधिवेशन भन्‍ने बहस अझै सकिएको छैन । बरू, देउवा पक्षका भनेर चिनिने नेताहरूले त्यसबेला सानो स्वरमा भन्ने गरेको चुनावपछि महाधिवेशन अहिले सबैभन्दा बलियो स्वर बनेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २०८३ वैशाख २८ देखि ३१ गते महाधिवेशन गर्ने कार्यतालिका ल्याए । कार्यसमितिले देउवा नेतृत्वका अहिलेको कार्यसमितिको म्याद ६ महिना थप गर्दै यो प्रस्ताव पारित गर्‍यो ।

जेनजी आन्दोलनपछि पार्टी पुनर्संरचनाको मुद्धा सबैभन्दा सशक्त रूपमा उठाएका नेता थापा अहिले ‘फेस सेभिङ’कै लागि मात्रै भए पनि विशेष महाधिवेशन गराउनुपर्ने दबावमा छन् । विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको अवस्थामा पार्टीभित्र दुईवटा सभापति हुने स्थिति सिर्जना हुने उनको बुझाइ छ । त्यसैले, विशेष महाधिवेशनबाट चुनावअघि गठबन्धन नगर्ने निर्णय मात्रै भए पनि पारित गरेर जाने तयारीमा थापा पक्ष रहेको छ ।

यतिञ्‍जेलमा देउवा चुनाव अघि महाधिवेशन गर्न नसकिने पक्षमा आइसकेका थिए । उनकै आडमा कार्यवाहक सभापति खड्काले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव लिएर आएका थिए । वैशाखमा मात्रै महाधिवेशन गर्ने निर्णयमा दुई महामन्त्रीसहित सहमहामन्त्री फर्मुल्लाह मन्सुर तथा कार्यसमिति सदस्यहरू अर्जुननरसिंह केसी र उमा खड्काले यसमा फरक मत राखे ।

यसपछि शेखर कोइरालाले सक्रियता बढाए । निकटस्थसँग पटक-पटक छलफल गरेपछि उनी विशेष महाधिवेशनको पक्षमा देखिए । मंगलबार आफ्नै निवासमा ३० जना जति केन्द्रीय सदस्यहरूको भेला गरेर उनले माघ ६ पछि विशेष महाधिवेशन बोलाउनु पर्ने धारणा राखे । तर, देउवाको छत्रछायामा रहेका नेताहरू सहमत हुने सम्भावना नभएकाले यो प्रस्तावमा पनि सहमति जुट्ने देखिएको छैन ।

चुनावअघि नियमित महाधिवेशन नहुने निश्‍चित भएपछि जसरी भए पनि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिइरहेको थापा पक्षले कोइरालालाई साथ देला । तर, कोइराला-थापा गठजोड काँग्रेसमा अहिले पनि निर्णायक होइन, दबावकारी मात्रै हो ।

अझ, समयमा नियमित महाधिवेशन नहुनुमा कोइराला पक्षले धोका दिएको बुझाइमा गगन पक्ष पुगेको छ । उनले निकटस्थहरूसँगको भेटघाटमा शेखर कोइरालाले साथ नदिँदा महाधिवेशन हुन नसकेको गुनासो गरेका थिए । उनले कुनैबेला रक्षात्मक अवस्थामा रहेका देउवा अहिले फेरि शक्तिशाली हुँदा पार्टीमा नेतृत्व हस्तान्तरणको मुद्धा मात्रै होइन, आफ्नो समूहको हस्तक्षेप पनि पुरै कमजोर भएको बताएका थिए ।

जेनजी आन्दोलनपछि पार्टी पुनर्संरचनाको मुद्धा सबैभन्दा सशक्त रूपमा उठाएका नेता थापा अहिले ‘फेस सेभिङ’कै लागि मात्रै भए पनि विशेष महाधिवेशन गराउनुपर्ने दबावमा छन् । विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको अवस्थामा पार्टीभित्र दुईवटा सभापति हुने स्थिति सिर्जना हुने उनको बुझाइ छ । त्यसैले, विशेष महाधिवेशनबाट चुनावअघि गठबन्धन नगर्ने निर्णय मात्रै भए पनि पारित गरेर जाने तयारीमा थापा पक्ष रहेको छ ।

राजनीतिक विश्लेषक इन्द्र अधिकारीले कांग्रेसले जेनजी आन्दोलनपछि नेपाली राजनीतिलाई नेतृत्व गर्ने शक्ति बन्ने अवसर गुमाएको बताउँछिन् ।

‘नवयुवाको भावना र जेनजी आन्दोलनको मर्मअनुसार पार्टी पुनर्संरचना गर्दै मुलुकको राजनीतिक नेतृत्व गर्ने अवसर कांग्रेससँग थियो,’ विश्लेषक अधिकारी भन्छिन्, ‘समयमा महाधिवेशन गरेर नेतृत्व परिवर्तनसहित अघि बढेको भए कांग्रेसमा विश्‍वास  बढ्ने थियो तर कांग्रेस त्यसमा सफल भएन ।’

सभापति नेकपा एमालेका नेता केपी शर्मा ओलीको प्रभाव, एमाले महाधिवेशन र देउवा निकटका नेताहरूको भूमिकाका कारण कांग्रेस अलमलमा परेको उनको निष्कर्ष छ । नेतृत्व परिवर्तन नगरी चुनावमा जाँदा कांग्रेस कमजोर हुने उनको बुझाई छ ।

‘महाधिवेशन नगरी, नेतृत्व परिवर्तन नगरी उहाँहरू कसरी चुनावमा जानुहुन्छ?’ अधिकारीको प्रश्‍न छ, ‘जनतासँग के भनेर भोट माग्‍नु हुन्छ? आफ्नै विधानमा भएअनुसार समयमा अधिवेशन गर्न नसक्ने कांग्रेसले देशको नेतृत्व गर्छ भनेर जनताले कसरी विश्‍वास गर्ने ?’

गगन विश्‍वप्रकाशको समूहले पार्टी फुट्छ कि भन्ने चिन्ता नगरी अघि बढ्नुपर्ने उनको सुझाव छ । ‘गगनजीहरू अहिले पनि सबैको सहमति लिएर अघि बढौं, दुई पक्ष नहोस् भन्‍नेमा प्रयासरत देखिनुहुन्छ,’  अधिकारी भन्छिन्, ‘तर, त्यस्तो परिस्थिति बन्‍ने देखिँदैन । त्यसैले, उहाँहरूले विशेष महाधिवेशन गराउन अघि बढ्नुपर्छ । यदि विधानअनुसार विशेष अधिवेशन गरेको खण्डमा उहाँहरूले पार्टी विभाजन गरेको हुँदैन, बहुमत पार्टी त उहाँसँगै हुन्छ नि । अरू कसैले पार्टी छोडेर जान्छ कि भनेर उहाँले चिन्ता लिइरहनु हुँदैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *