राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमालेविरुद्ध नेकपा एक्लै मैदानमा
काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल भए पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भने गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस–एमालेबीच सिट बाँडफाँटमा सहमति भएपछि नेकपाले अलग्गै उम्मेदवारी दिने निर्णय गरेको हो । यससँगै सबै प्रमुख दल सहभागी हुने भनिएको महागठबन्धनको प्रयास तत्कालका लागि असफल भएको छ ।
रिक्त १९ सिटमध्ये १८ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् । मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाई एक सिट दिने समझदारी कांग्रेस र एमालेबीच भएको छ । मधेशमा जसपा तेस्रो ठूलो दल रहेकाले त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना भए पनि अन्य प्रदेशमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
कांग्रेस–एमालेले भागबण्डा गरेर उम्मेदवार टुंग्याएपछि नेकपाले गठबन्धनबाट बाहिरिने निर्णय लिएको हो । नेकपाले अब सबै प्रदेशमा एकल रूपमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको जनाएको छ । नेकपाका नेता प्रकाश ज्वालाले कांग्रेस र एमालेसँग तालमेल सम्भव नभएको भन्दै पार्टीका तर्फबाट सबै ठाउँमा उम्मेदवार उठाइने स्पष्ट पारेका छन् । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आजदेखि सुरु हुँदैछ भने मतदान माघ ११ गते हुनेछ । यस निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । सातै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल १ हजार ५०६ मतदाता छन् ।
यी मतदाताले राष्ट्रियसभाका रिक्त १९ सिटमध्ये १८ सिटका लागि मतदान गर्नेछन् । मनोनित सदस्य वामदेव गौतमको स्थान भने सरकारले सिफारिसमार्फत पूर्ति गर्नेछ । प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । अंक गणितीय हिसाबले कांग्रेस र एमालेको मतभार सबै प्रदेशमा बलियो देखिन्छ ।
कोशी प्रदेशमा कांग्रेस र एमालेको संयुक्त मतभार दुई तिहाइ बहुमत पुग्ने अवस्थामा छ भने मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि दुवै दल मिल्दा निर्णायक बहुमत सुनिश्चित हुने देखिन्छ । यस्तो अवस्थामा कांग्रेस–एमाले गठबन्धनमा अन्तर्घात नभए राष्ट्रियसभा निर्वाचनमा अधिकांश सिटमा उनीहरूको जित सम्भावित देखिएको छ । यद्यपि, नेकपाले एक्लै उम्मेदवारी दिएपछि कतिपय प्रदेशमा प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ । गठबन्धन बाहिर रहेर चुनावी मैदानमा उत्रिएको नेकपाको प्रदर्शनले आगामी राजनीतिक समीकरण र राष्ट्रियसभाको शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।
