जनकपुर पुगेर महन्थ ठाकुरले गरे उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा लोसपाका मधेस प्रदेश सभा सदस्य जयनुल राईन रहेका छन् ।
समर्थकमा समेत लोसपाकै प्रदेशसभा सदस्य एवं मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी छिन् । जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ । मधेस प्रदेशमा चार वटा सिटको लागि उम्मेदवारी दर्ता हुँदैछ । दलित, अल्पसंख्यक÷अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदैछ । मधेस प्रदेशमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको हो । जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए । राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ । राष्ट्रिय सभाका १८ सिटमध्ये नेपाली कांग्रेसलाई ९, नेकपा एमालेलाई ८ र जसपा नेपाललाई १ सिट भागबण्डा भएको छ ।
