दल ‘फेर्दै’ शिखर चढ्दै सुनिलबहादुर थापा : राष्ट्रपतिको सल्लाहकारपछि राष्ट्रियसभामा बाजी
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा कोशी प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् ।
खुला कोटामा अन्य कुनै उम्मेदवारको मनोनयन नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईंका अनुसार अन्यतर्फको कोटामा नेकपाका हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न गएनन् ।
कांग्रेस–एमाले गठबन्धनको सहमतिअनुसार थापाले उम्मेदवारी दिएका थिए । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमालेबीच क्रमशः ९ र ८ सिटको भागबण्डा भएको छ भने एक सिट जसपाका महन्थ ठाकुरलाई दिइएको छ ।
केही समयअघि मात्र थापा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए । उनले पदबाट राजीनामा दिए । राजीनामा दिएर थापाले पुनः सक्रिय राजनीतिमा फर्किने संकेत गरेका थिए
बुधबार त उनी राष्ट्रिय सभा सदस्य नै निर्वाचित भए । उनी कांग्रेस–एमाले र जसपाबीचकाे तालमेलले राष्ट्रिय सभा सदस्य भएका हुन् ।
उनकाे पुर्ख्याैली घर धनकुटाको मुगा हाे । थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा उनी राप्रपाबाट धनकुटा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।
२०७४ जेठमा शेरबहादुर देउवाको मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्तिमन्त्री भए । साेही वर्ष भएकाे प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाटै धनकुटा क्षेत्र नं. १ मा उम्मेदवार थिए । उनी नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । त्यसपछि उनी २०७७ साउनमा ११ केन्द्रीय सदस्यसहित कांग्रेस प्रवेश गरे । देउवाले उनलाई सहमहामन्त्री बनाए ।
राजनीतिमा आउनुअघि थापाले संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा सेवा गरेका थिए । सन् २०११ मा शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्च आयोग (UNHCR) मा सुडानमा कार्यरत रहँदै उनले राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।
