`

कांग्रेस विभाजनको ढोका तेस्रो पटक खुला, यस्तो थियो पहिलो र दोस्रो विभाजनको कहानी

Nepal One HD २४ पुष २०८२ १५:३९
नेपाली कांग्रेस

काठमाडौं । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा धाँजा फाटेको छ । महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसमा विशेष महाधिवेशन बोलाएपछि पार्टी फुट्ने निश्‍चितजस्तै भएको छ ।

विशेष महाधिवेशनको पक्षमा एकपछि अर्को कांग्रेसका जिल्ला कार्यसमितिहरू खुल्दैछन् । कोशीको उदयपुर, बागमतीको ललितपुर र काभ्रे तथा गण्डकीको कास्की जिल्ला समितिले विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति नै जारी गरेका छन् । यसले कांग्रेस पार्टी सग्लो रहने सम्भावनालाई न्यून बनाएको छ ।

नेता डा. शेखर कोइराला पार्टी फुटतिर गएपछि सबैभन्दा चिन्तित देखिएका छन् । मझधारमा रहेर उनले सभापति शेरबहादुर देउवा तथा महामन्त्रीहरू थापा र शर्मालाई संवाद गर्न दबाब दिइरहेका छन् ।

तर, देउवा र दुई महामन्त्रीबीच नियमित कि विशेष महाधिवेशनको सन्दर्भमा उत्पन्‍न कहल थामथुम नहुनेतिर पुगेको छ । यसले कांग्रेसलाई तेस्रो ठूलो विभाजनतर्फ धकेलेको छ ।

पार्टी विभाजनको रेखा कोर्ने थलो नयाँ बानेश्‍वरको आनन्दभूमि पार्टी प्यालेस बनेको छ । त्यहीँबाट विशेष बुधबार महाधिवेशन आह्वान भएको छ ।

त्यहीँ पार्टी संस्थापन अर्थात् देउवा पक्षले शुक्रबार पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन रणनीति बनाउने भएको छ । आनन्द भूमि प्यालेसलाई कांग्रेसले पार्टी जीवनमा तेस्रो फुटको द्वन्द्वभूमि बनाएको छ ।

कांग्रेस विघटित प्रतिनिधिसभामा पहिलो दल थियो । स्थानीय तहमा पनि कांग्रेस सबैभन्दा ठूलो हो । यही दल विभाजनको बाटोमा हिँडेको छ ।

संस्थापन पक्षले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशनलाई विधानविपरीत र असंवैधानिक भएको भन्दै विरोध गरेको छ । महामन्त्रीहरूले भने संस्थापन पक्षको आरोपलाई खारेज गरेका छन् ।

उनीहरूले विधानमै भएको व्यवस्थाअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गर्दा देउवाले बेवास्ता गर्दा मागकर्ताहरूको भावनालाई सम्बोधन गर्नुपर्ने भएको जवाफ दिने गरेका छन् ।

उनीहरूले काठमाडौंको भृकुटीमण्डप बुक गरिसकेका छन् । विशेष महाधिवेशन कुनै हालतमा नरोकिने भन्दै देशभरबाट महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् । यी विकसित घटनाक्रमले विभाजन नरोकिने अवस्थामा कांग्रेस पुगेको छ ।

यसअघि कांग्रेसले दुई ठूला विभाजन बेहोरिसकेको छ । देशमा प्रजातन्त्र स्थापनापछिको एकाध वर्षमै कांग्रेस विभाजित भयो ।

पार्टीलाई विभाजन भएको मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बन्दा हो । उनी २००८ सालमा प्रधानमन्त्री भए । भनिन्छ, उनी प्रधानमन्त्री भएको राजा त्रिभुवन र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको चाहनाअनुसार थियो ।

खासमा त्यसबेला प्रधानमन्त्री बन्ने बीपीको चाहना थियो । उनी असफल भए । त्यसपछि पार्टीमा दाजु मातृका र भाइ बीपीबीच अन्तरसंघर्ष चुलियो । बीपीको अडान थियो– ‘मातृकाले पार्टी सभापति छाडेर प्रधानमन्त्री मात्रै हुुनुपर्छ ।’ मात्रिकाले अस्वीकार गरे ।

यसबीच २००९ को जेठमा भएको पार्टीको पाचौँ महाधिवेशनबाट सभापति बीपी निर्वाचित भए । साउनको ८ गते पार्टीबाट प्रधानमन्त्री भएका मातृकासहित सबै मन्त्रीलाई फिर्ता बोलायो ।

तर, मातृकाले प्रधानमन्त्रीबाट राजीनामा दिए न त मन्त्रीहरूले नै । यसपछि ११ साउनमा मातृकासहित कांग्रेसबाट मन्त्री भएकाहरूलाई बीपीले तीन वर्षसम्मका लागि क्रियाशील सदस्यता निलम्बन गरे ।

त्यसपछि मातृकाले आफ्नो नेतृत्वमा २१ भदौमा ‘नेपाली कांग्रेस तदर्थ समिति’ गठन गरे । यो नै कांग्रेसको पहिलो विभाजन थियो । कांग्रेसको पार्टी जीवनमा मातृका पहिलो विभाजक बने ।

यसपछि कांग्रेसलाई विभाजन गर्ने दोस्रो नेता शेरबहादुर देउवा भए । उनले २०५९ को असार ५ गते पार्टी विभाजन गरे । त्यसबेला उनी प्रधानमन्त्री थिए भने पार्टी सभापति गिरिजाप्रसाद कोइराला । उनीहरूबीच संकटकालको म्याद थपको विषयमा मतभेद देखिएको थियो । जतिबेला देशमा माओवादी युद्ध उत्ष्र्कामा थियो ।

देउवा सरकारले त्यस वर्षको ३ जेठमा थप छ महिना संकटकाल लगाउने प्रस्ताव दर्ता गर्‍यो । त्यसपछि प्रधानमन्त्री देउवालाई स्पष्टीकरण सोध्ने काम भयो । देउवाले स्पष्टीकरण दिए ।

तर, चित्त नबुझेको भन्दै उनलाई सभापति कोइरालाले १२ जेठमा पार्टीबाट तीन वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरे ।

यही पृष्ठभूमिमा देउवाले सोही वर्ष नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । यसरी कांग्रेस औपचारिक रूपमा दोस्रोपटक विभाजित भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *