प्रचण्डले मधेसमा गाएको गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी
काठमाडौं । नेकपा माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन् । रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् । मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् । प्रचण्डले माधव नेपाललगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो गरेका हुन् ।
रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्ततः सत्ता र सुविधा चाहेकाहरु, अवसरवादीहरु अनि वास्तविक शहीदहरुलाई दिएका छन् । राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु ।’ प्रचण्डले केही दिनअघि मधेसमा आयोजित नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ सम्झाउँदै रहबरले राजीनामा पत्र पठाएका हुन् ।

