`

संकटमा कांग्रेसमा : संस्थापन पक्षकाे शुक्रबार केन्द्रीय सदस्य भेला, विशेष महाधिवेशन नराेकिने, विश्‍वप्रकाश बिरामी !

Nepal One HD २४ पुष २०८२ १९:२९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषयले आन्तरिक विवाद नयाँ उचाइमा पुगेको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको छ। भेलामा केवल संस्थापन पक्षका केन्द्रीय सदस्यहरूलाई मात्र आमन्त्रित गरिएको छ, शीर्ष नेताहरूलाई सहभागी गराउने योजना छैन।

स्रोतका अनुसार भोलि बिहान साढे १० बजे नयाँ बानेश्वरमा हुने बैठकमा २५ केन्द्रीय सदस्यहरूको समूह सहभागी हुने छन्।

यसअघि पनि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले शीर्ष नेताहरूलाई बोलाएर पटक–पटक भेलाहरू आयोजना गर्दै आएका थिए। उनीहरू निर्वाचनअगावै महाधिवेशन हुन नहुने पक्षमा अडान राख्दै आएका थिए।

यहीबीच संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्ने तयारी गरेको छ। याे निर्णय बिहीबार भएकाे हाे । २७ पुसका लागि तय गरिएको भेला बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ। ‘आमनिर्वाचन, १५औं महाधिवेशन र युवाको भूमिका’ शीर्षकमा हुने भेलाको संयोजन नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरुङलाई दिइएको छ।

विशेष महाधिवेशन पुस २७ र २८ गते भृकुटीमण्डप, काठमाडौंमा हुने तय भइसकेको छ। महाधिवेशन आह्वान महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गरेका हुन् । यद्यपि पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधानअनुसार कुनै एक व्यक्तिले विशेष महाधिवेशन बोलाउन नसक्ने र सदस्यहरूलाई अनावश्यक सहभागी नहुन अनुरोध गरेका छन्।

महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार भने सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्, “विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन। यदि विभाजन हुने अवस्था आए, अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिरिनेछु।” उनका अनुसार विशेष महाधिवेशनलाई ‘बदलिएको समयको कांग्रेस र बदल्नुपर्ने देश’ को दृष्टिकोणले आवश्यक मानिएको छ।

विशेष महाधिवेशन आह्वान गर्नुको कारणबारे महामन्त्री शर्माले भनेका छन् कि बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौती र पार्टीको दायित्वलाई प्रमुख रुपमा ध्यानमा राखेर महाधिवेशन आवश्यक भएको हो। उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि महाधिवेशन अपरिहार्य भएको तर्क गरेका छन्।

कांग्रेस विधानको धारा १७(२) अनुसार, केन्द्रीय समितिले आवश्यक ठानेमा विशेष महाधिवेशन गर्न सक्ने व्यवस्था छ। साथै, पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था पनि स्मरण गराइएको छ। हस्ताक्षर नगरेका प्रतिनिधिहरू पनि विशेष महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

संस्थापन पक्षले २७ पुसमा युवा भेला, २८ पुसमा जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने तयारी गरेको छ। ललितपुर जिल्ला समितिले भृकुटीमण्डपसम्म र्‍यालीको योजना बनाएको छ। कुपण्डोल, हनुमानस्थान हुँदै भृकुटीमण्डप पुग्ने र्‍यालीमा बाजागाजा र झाँकी समेत समावेश हुने छ।

विशेषा महाधिवेशनको तयारीअन्तर्गत भने भृकुटीमण्डपमा मञ्‍च निर्माण सुरु भइसकेको छ। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक व्यवस्थापनमा संलग्न छन्।

यसैबीच, पार्टीभित्रको विवाद समाधानका लागि नेता डा. शेखर कोइरालाले बिहीबार नै सभापति देउवासँग भेट गरी पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका छन्। कोइरालाका अनुसार पार्टी एकता र नयाँ नेतृत्व भन्दा पनि तत्काल एकताको आवश्यकता महत्वपूर्ण छ।

विशेष महाधिवेशन पक्षधरहरूले भने पार्टीको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै महाधिवेशन अपरिहार्य रहेको दाबी गरेका छन्। उनीहरूले पार्टीमा नयाँ ऊर्जा भर्न, रणनीति स्पष्ट गर्न र आगामी निर्वाचनमा राम्रो परिणाम सुनिश्चित गर्न महाधिवेशन आवश्यक भएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *