`

तीन वटै सुरक्षा निकायले भने–भयरहित रुपमा निर्वाचन गराउन तयार छौं

Nepal One HD २५ पुष २०८२ १७:१७
निर्वाचन विषेश

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुलुकका तीन वटै प्रमुख सुरक्षा निकायले शान्ति, सुरक्षा र विश्वासको वातावरणमा निर्वाचन सम्पन्न गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन् । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सुरक्षा निकायका उच्च अधिकारीहरूले निर्वाचन सुरक्षासम्बन्धी तयारीबारे जानकारी गराउँदै राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट पारित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा रहेको बताएका हुन् ।

सो योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच घनिष्ठ समन्वय र सहकार्य भइरहेको जनाइएको छ । नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुनु मुलुकको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि सेना पूर्ण रूपमा तयार रहेको बताए । उनका अनुसार निर्वाचन अवधिमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गरी आवश्यक गृहकार्य भइरहेको छ ।

बारुदी सुरुङ तथा विस्फोटक पदार्थलाई मुख्य सुरक्षा चुनौतीका रूपमा औंल्याउँदै उनले विगतका अधिकांश विष्फोटक सामग्री नष्ट भइसकेको जानकारी दिए । यद्यपि, कतै फेला परेमा सूचना आदान–प्रदानका आधारमा तत्काल बम डिस्पोजल टोली परिचालन गरिने बताए । निर्वाचनअघि बालबालिका, महिला र किसान जस्ता लक्षित वर्गलाई सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिने योजना पनि सेनाले अघि सारेको छ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुरर्वेदीले भेटिएका बम निष्क्रिय पार्नुभन्दा पनि नयाँ बम बनाउने मानसिकता अझै खतरनाक भएको टिप्पणी गरे । आन्दोलनका नाममा पेट्रोल बम र केमिकल प्रयोग गरी हिंसा फैलाउने प्रवृत्तिलाई उनले राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भएको बताए । उनका अनुसार निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्ती निरन्तर सञ्चालन भइरहेका छन् । आपराधिक गतिविधि नियन्त्रण र फरार कैदीबन्दीको खोजीका लागि छुट्टै समिति गठन गरी सक्रिय रूपमा काम भइरहेको जानकारी पनि उनले दिए ।

सशस्त्र प्रहरी बल नेपालका एआईजी गणेश ठाडा मगरले तीन वटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाअनुसार सक्रिय रूपमा परिचालित भएको बताए । निर्वाचन सुरक्षालाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप गर्ने प्रक्रिया सुरु भइसकेको उनले जानकारी गराए । उनका अनुसार अतिरिक्त जनशक्तिको सहयोगमा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था मिलाइँदै निर्वाचनलाई पूर्ण रूपमा भयरहित बनाइनेछ। बैठकमा सहभागी सुरक्षा निकायका प्रतिनिधिहरूले आपसी समन्वय, पर्याप्त जनशक्ति परिचालन र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय रूपमा सम्पन्न गराउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *