नेतालाई लाञ्छना र फसाउने प्रवृत्ति अन्त्य नगरी चुनाव सम्भव छैन: ओली (भिडियाेसहित)
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
एमालेको शनिबार आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा उनले निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् । उनले निर्वाचनको वातावरण बनिनसकेको भए पनि निर्वाचन गर्नुपर्ने बताए ।
नेताहरूलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्नेजस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्दै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाए ।
उनले विभिन्न बहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गरे । उनले सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न सुझाएका छन् ।
उनले भने, ‘अहिले पनि राजनीतिक दलका नेताहरूमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयासको परित्याग गर्ने अवस्था बनिसकेको छैन । निर्वाचनको वातावरण बनेको छैन । हामीले सर्वदलीय रूपमा पनि कुराहरू अभिव्यक्ति गरेका छौँ र सरकारका प्रतिनितिहरूको बातचितमा पनि हामीले यी कुराहरू उठाइरहेका छौँ । तर, अझै पनि निर्वाचनको सुनिश्चतता र निर्भय वातावरण बनेको छैन ।’
उनले समानुपातिक निर्वाचनका लागि सर्वसम्मतिले नै बन्दसूचीमा नाम सिफारिस गरेको दाबी गरे ।
प्रत्यक्ष निर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्दा एकल सिफारिसका नाममा तल्लो कमिटीमा केही विवाद देखिएको उल्लेख गर्दै उनले विवाद सिर्जना नगरी पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गरे ।
