`

जनकपुरधाममा मागअनुसार खानेपानी आपूर्ति छैन

Nepal One HD २७ पुष २०८२ ६:२७
समाज

जनकपुरधाम – खानेपानी संस्थान जनकपुरधामको कार्यालयले नगरभित्र मागअनुसार खानेपानी वितरण तथा आपूर्ति गर्न सकेको छैन । यसबाट उपभोक्ता समस्यामा परेका छन् ।

संस्थानले दैनिक करिब ३५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ । कार्यालयकोे आफ्नो पाइप लाइनमार्फत वितरण गर्ने खानेपानीबाट जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानीको पहुँचबाट बाहिर छन् । जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुर्ई करोड ५० लाख लिटर पानीको माग छ । कार्यालयले अहिले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको कार्यालय प्रमुख विष्णुदेव साहले बताउनुभयो ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार जनकपुरधाममा ४० हजार ४०९ परिवार रहेकामा करिब पाँच हजार घरमा खानेपानीको मिटर जडान गरिएको छ । जडान गरिएकामध्ये ४० प्रतिशत जति घरमा आंशिक रूपमा मात्र पानी आउने गरेको छ । जनकपुरधाममा घरपरिवारको सङ्ख्या पनि बढ्दै गएको छ ।

अहिले कार्यालयले वडा नं १० तथा रामानन्द चोकमा निर्माण भएको चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्याङ्कीमा ६ वटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण गरिरहेको कार्यालय प्रमुख साहले बताउनुभयो । तर ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुटेका, चर्केका तथा जीर्ण भएकाले पानी वितरणमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

“सीमित बजेटका कारण पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति गर्न समस्या भएको छ”, प्रमुख साहले भन्नुभयो । जीर्ण पाइपका कारण ५० प्रतिशतमात्र नियमित रूपमा पानी आपूर्ति हुने गरेको छ । सो कार्यालयले गत आर्थिक वर्षमा कार्यालय हाताभित्र रु एक करोड ३० लाख मूल्यबराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की र रु चार करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीदेखि वडा नं ८ स्थित होटल सियाशरणसम्म ६ लेन सडक किनारमा सात किलोमिटर लामो सडकको दायँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याउने कार्य गरेको छ ।

सीमित स्रोत र साधनका बाबजुद त्यहाँबाट पाँच लाख लिटर पानी भण्डारण हुने तथा धारा जडान हुने कार्य भइरहेको कार्यालय प्रमुख साहले बताउनुभयो । पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा पानी वितरणमा समस्या हुने गरेको कर्मचारीको गुनासो छ । यहाँ अधिकांश घरमा चापाकल तथा मोटर जडान गरेर खानेपानीको समाधानको प्रयास भइरहको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *