गगन थापालाई सबैले सभापति स्विकार्नुपर्छ : सुनिल शर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले गगन थापालाई पार्टी सभापति स्वीकारेर अघि बढ्नुको विकल्प कांग्रेससँग नरहेको बताएका छन्।
टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सहभागी भएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले थापाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्र देखिएको असन्तुष्टि र आन्तरिक विभाजन अन्त्य गर्न सभापतिलाई स्वीकारेर सहकार्य गर्नु अनिवार्य रहेको उनको भनाइ थियो।
‘उहाँलाई सभापति स्वीकारेर मिलेर जानुबाहेक पार्टीको अर्को विकल्प छैन,’ शर्माले भने, ‘कांग्रेसभित्र धेरै नेता–कार्यकर्ता उत्पीडित भएका छन्। पछिल्ला पाँच वर्षमा नहुनुपर्ने धेरै काम पार्टीभित्र भएका छन्।’
उनले संस्थापन पक्षमा नलाग्ने नेता तथा कार्यकर्तालाई विभिन्न रूपमा दबाब र उत्पीडनमा राखिएको आरोप समेत लगाए। टिकट वितरण प्रक्रियामा समेत ठुलो चलखेल हुँदै आएको दाबी गर्दै त्यसैको परिणामस्वरूप पार्टी अहिलेको अवस्थासम्म आइपुगेको उनले बताए।
