बर्दिया–१ मा नेकपाको उम्मेदवार बामदेव गौतम, राष्ट्रियसभा सदस्यबाट राजीनामा कहिले ?
काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बर्दिया–१ बाट उम्मेदवार बनाएको छ ।
उम्मेदवार बन्ने भएसँगै गौतमले राष्ट्रिय सदस्यबाट राजीनामा दिने भएका छन् । उनीनिकट एक नेताका अनुसार गौतमले आइतबार पदबाट राजीनामा दिने छन् । उनी नेकपाका वरिष्ठ नेता हुन् ।
२०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर– १ बाट उनले चुनाव लडे । २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जिते ।
तर, ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए । तर चुनाव जित्न भने सकेनन् । उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।
त्यसपछि बर्दिया– १ बाट चुनाव नलडेका उनी अहिले फेरि त्यही क्षेत्रमा चुनाव लड्ने भन्दै मतदाता भेटघाटमा सक्रिय हुँदै आएका छन् ।
उनी २०७७ साल असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत भएका थिए ।
गौतमसहित राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ ।
कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।
