`

नेकपा एमालेका पदाधिकारी को कहाँबाट चुनाव लड्दै ?

रामचन्द्र जोशी ४ माघ २०८२ १३:२०
नेकपा एमाले

काठमाडाै‌ं । नेकपा एमालेले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गरेको छ। शनिबार राति अबेरसम्म बसेको एमाले सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेक सबै क्षेत्रका उम्मेदवारको टुङ्‍गाे लगाएको हो। 

एमालेले झापा-५ मा अध्यक्ष केपी शर्मा ‌ओलीलाई उम्मेदवार बनाएकाे छ ।  उनले त्यहाँ २०४८ यता भएका सातवटा संसदीय निर्वाचनमध्ये ६ वटा जितेका छन्। २०६४ को संविधानसभा निर्वाचनमा भने उनलाई तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्‍वदीप लिङ्देनले पराजित गरे । 

अध्यक्ष ओली उम्मेदवार बन्दा महासचिव शंकर पोखरेलकाे टुङ्‍गाे लागिसकेको छैन। उनी निर्वाचन लड्छन् कि लड्दैनन् भन्‍ने यकिन छैन । यसअघि पोखरेल दाङ क्षेत्र-२ बाट चुनाव लड्दै आएका थिए । त्यहाँ महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्‍ग्याउने भनिएकाे छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही छाडेर पाल्पाबाट चुनाव लड्ने भएका छन्। पौडेलले २०६४ यताका सबै संसदीय निर्वाचन रुपन्देहीबाट जित्दै आएका थिए। तर, यसपाली भने पौडेल रुपन्देही छोडेर पाल्पा-२ पुगेका हुन्।  पौडेलको संसदीय राजनीतिको यात्रा पाल्पाबाटै भएको थियाे ।  २०५१ को संसदीय निर्वाचन पाल्पाबाट जितेर उनी २०५३ मा युवा तथा खेलकुदमन्त्री समेत बनेका थिए। 

पौडेल पाल्पा-२ उक्लिएसँगै त्यहाँबाट २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका एमाले युवा नेता ठाकुर गैरे भने यसपाली चुनाव नलड्ने निश्‍चित भएकाे छ । गैरेले ०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेलाई पराजित गरेका थिए।

एमालेका अर्का उपाध्यक्ष तथा पूर्वसूचना तथा सञ्‍चारमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङ-१ मा उम्मेदवार बनेका छन्। गुरुङ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै, एमाले उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी-२ बाट उम्मेदवार भएका छन्। उनले २०७९ को निर्वाचन पनि सोही क्षेत्रबाट जितेका थिए। 

एमालेले उपमहासचिव लेखराज भट्टलाई कैलाली-४ मा निर्वाचन लडाउने भएकाे छ ।  त्यो उनको गृह निर्वाचन क्षेत्र हाे । २०७९ को निर्वाचनमा भट्ट त्यही क्षेत्रमा नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए। अर्का उपमहासचिव रघुवीर महासेठ धनुषा-४ बाट चुनाव लड्ने भएका छन्। महासेठ सोही क्षेत्रबाट २०७४ र २०७९ को आम निर्वाचनमा विजय भएका थिए ।

यता, एमालेका अर्का उपमहासचिव योगेश भट्टराईको भने चुनाव लड्ने वा नलड्ने टुङ्‍गाे लागेको छैन। ताप्लेजुङबाट ०७४ र ०७९ को निर्वाचन जितेका भट्टराईको ठाउँमा यसपाली राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे चुनाव लड्ने चर्चा छ। उनी एमालेका पूर्वसभासद भूपेन्द्र थेबेका छाेरा हुन् । 

एमाले सचिवहरू भानुभक्त ढकाल तेह्रथुम, शेरधन राई भोजपुर, महेश बस्‍नेत भक्तपुर-२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भएका छन्। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *