डा. भीम रावल अछाम-१ बाट चौँथोपटक चुनावी मैदानमा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावल २१ फागुनको निर्वाचनका लागि अछाम क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनेका छन् ।
रावल २०४८ यता भएका सातवटा संसदीय निर्वाचनमध्ये ३ वटा निर्वाचनमा त्यहाँबाट निर्वाचित भए । उनी २०५६ को आमनिर्वाचनमा भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्दबहादुर शाहसँग पराजित भएका थिए।
उनले २०५१ सालको मध्यावधि निर्वाचन, २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अछाम-१ बाट जित हात पारे । २०७९ को निर्वाचनमा भने नेकपा एमालेले उनलाई टिकट दिएन । पछि उनलाई एमालेले पार्टीबाटै हटायाे । अन्तत: मातृभूमि जागरण अभियानमार्फत नेकपाको सक्रिय राजनीतिमा प्रवेश गरे ।
अछाम-१, २०४८ र २०५६ को निर्वाचनबाहेक सबै निर्वाचन कम्युनिष्ट उम्मेदवारले जित्दै आएको क्षेत्र हो। ०४८ मा नेपाली काङ्ग्रेसका उम्मेदवार बलबहादुर कुँवरले जितेको यो क्षेत्र ०५६ को आमनिर्वाचनमा काङ्ग्रेसकै गोविन्दबहादुर शाहले जितेका थिए।
२०६४ मा नेकपा एमालेबाट शेरबहादुर कुँवर र २०७९ को निर्वाचनमा पनि नेकपा एकीकृत समाजवादीबाट कुँवर नै विजयी भए ।
यसपटक एमालेले अछाम-१ मा जिल्ला इन्चार्ज झपट बोहरालाई उम्मेदवार बनाएकाे छ । बोहरा ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कुँवरसँगँ पराजित भएका थिए।
कांग्रेसले भने अहिलेसम्म अछाम-१ मा कसलाई उम्मेदवार बनाउने टुङ्गाे लगाएकाे छैन ।
