अमेरिकाले गर्यो थप ८० नेपालीलाई ‘डिपोर्ट’
काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई ‘डिपोर्ट’ गरेको छ । मंगलबार अपराह्न साढे ५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई नेपाल फर्काइएको हो । डिपोर्ट गरिएकामध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । उनीहरूलाई फर्काइएसँगै प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार डिपोर्ट गरिएका अधिकांश नेपाली नागरिकले अवैध तथा तल्लो बाटो प्रयोग गरेर अमेरिका प्रवेश गर्ने प्रयास गरेको खुलेको छ । एक जना भने अध्ययन भिसामा अमेरिका गएका थिए भने बाँकीले विभिन्न दलालमार्फत करोडौं रुपैयाँसम्म खर्च गरेको भेटिएको छ ।
कतिपयले अमेरिका पुग्न एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन् । यस विषयमा मानव बेचबिखन तथा अवैध आप्रवासनसँग जोडिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन् । कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्यूरोले उनीहरुसँग अनुरोध गरेको छ । यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरण-चरणमा डिपोर्ट गर्दै आइरहेको छ ।
